नेपाली नागरिकता लिने भारतीय पक्राउ


काठमाडौँ, ११ पुस । भारतको सीतामढी घर भएका २० वर्षीय सीताराम सिंह नेपाली नागरिकताको प्रमाणपत्रसहित पक्राउ परेका छन् । झूटो विवरण पेस गरेर नागरिकता लिएका उनी सर्लाहीको बरहथवास्थित मामा घरबाट पक्राउ परेका हुन् । इलाका प्रशासन कार्यालय बरहथवाबाट नागरिकता दिलाउने बरहथवा नगरपालिका–२ का गिर्जबहादुर भण्डारी र साक्षी बसेका ५ जना फरार छन् ।

भण्डारीले भारतमा बिहे गरेकी बहिनीको छोरा सिंहलाई आफ्नै छोरा बनाएर नागरिकता दिलाएको प्रशासनले जनाएको छ । सिंहले यही पुस ३ गते नीरज भण्डारीका नाममा नेपाली नागरिकता लिएका हुन् । सिंह पक्राउ पर्नासाथ फरार रहेका भण्डारी र साक्षीहरूलाई खोजिरहेको प्रहरीले जनाएको छ । भण्डारीले माइलो छोरो भनेर वडाबाट सिफारिस लिएका थिए । सशस्त्र द्वन्द्वकालमा जन्मदर्तालगायतका कागजात जलेको र भण्डारीले ल्याएको कागजातमा स्थानीय ५ जनालाई साक्षी राखेर जन्म प्रमाणित गरिदिएको हुनाले सिफारिस गरेको वडाध्यक्ष यज्ञबहादुर खड्काले बताए । ‘भान्जालाई नागरिकता दिलाएपछि भोज खुवाएको सुनें । त्यसपछि शंका लागेर सिंहलाई पक्रेर मैले नै प्रहरीमा बुझाएको हुँ,’ उनले भने ।

नागरिकता ऐन, ०६३ अनुसार कुनै विदेशीले झूटो विवरण दिएर नेपाली नागरिकता लिए १ देखि ५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ । त्यस्तो नागरिकता रद्द हुन्छ । यस्तो नागरिकता दिलाउन सनाखत, सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ देखि ५० हजार रुपैयाँसम्म वा दुवै सजाय हुने ऐनमा व्यवस्था छ । कर्मचारीलाई भने विभागीय कारबाही हुन्छ ।

कान्तिपुर दैनिकबाट