Logo

फुटबल मैदान ८० प्रतिशत निर्माण



हेटौँडा, १२ पुस : मकवानपुरको हेटौँडामा निर्माणाधीन आधुनिक र सुविधासम्पन्न फुटबल मैदानको ८० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आगामी फागुनसम्ममा सम्पूर्ण निर्माण सम्पन्न गरिने खेलकूद विकास समितिका माधव तिमल्सिनाले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारको रु पाँच करोडको लागतमा खेल मैदान निर्माण भइरहेको हो । सम्याउने तथा पानी नजम्ने प्रविधिका लागि निकासका साधन जडान गरी मिलाउने र खेलाडीलाई पानीको फोहोरा हान्न मिल्ने गरी अन्तर्राष्ट्रियस्तरको आधुनिक फुटबल मैदान निर्माण हुने उनको भनाइ थियो ।

प्रदेश सरकारले मकवानपुरको हेटौँडा र सिन्धुपाल्चोकमा फुटबल मैदान निर्माण गरिरहेको र दुवै मैदान निर्माणको अन्तिम चरणमा रहेको प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलको भनाइ थियो । खेलक्षेत्रको विकास गर्न सक्ने हो भने देशले आर्थिक लाभ लिन सक्ने उहाँको भनाइ थियो । उनले खेल क्षेत्रका पूर्वाधारको विकास गरेर ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने हो भने खेल पर्यटन वृद्धि हुने र देशको आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्ने उनको धारणा छ । हेटौँडाको केन्द्रीय खेलकुद प्रतिष्ठानमा निर्माणधीन गौरीटार रङ्गशालाको मुख्यमन्त्री पौडेलले निरन्तर अनुगमन र अवलोकन गरी प्रत्यक्ष रुपमा निर्माण कार्यलाई छिटो र स्तरीय तबरले सम्पन्न गर्न निर्देशन दिनुहुने र त्यो निर्देशनका कारण पनि काम द्रूतगतिमा अगाडि बढिरहेको निर्माणमा सङ्लग्न ठेकेदार कम्पनीका प्रतिनिधिले जनाएका छन् ।

रासससँग कुरा गर्दै मुख्यमन्त्री पौडेलले काममा ढिलाइ हुन नहुने बताउनुभयो । पौडेलले यही वर्षभित्र आधुनिक प्रविधियुक्त उत्कृष्ट फुटबल मैदान, अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने खालको भलिबल कोर्टसहितको कभर्ड हल र एक वर्षभित्र क्रिकेट मैदान सम्पन्न गर्ने गरी काम गरिरहेको बताउनुभयो । उनले प्रदेश राजधानी हेटौँडामा रहेको गौरीटार रङ्गशालामा फुटबल मैदानको र कभर्ड हलको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए ।

मुख्यमन्त्री पौडेलले सोही स्थानमा आगामी वर्षभित्र क्रिकेट मैदानको निर्माण कार्य सकिने बताउनुभयो । उहाँले फुटबल मैदानको प्यारापिट निर्माण कार्य तत्काल शुरु गरिने बताए । “हाम्रो कार्यकालभित्र सबै खालका प्रतियोगिता आयोजना गर्न मिल्ने अन्तर्राष्ट्रियस्तरका रङ्गशाला निर्माण हुन्छन् । प्रदेशका सबै जिल्लामा व्यवस्थित खेल मैदान बन्छन्, स्थानीय तहमा पनि खेलमैदान निर्माण कार्यलाई प्राथमिकता दिइन्छ”, उनले भने ।

तेइस बिघा जमीनमा फैलिएको उक्त प्रतिष्ठानमा खेलाडी बसोबास गर्ने सुविधायुक्त आवासको निर्माण पनि भइसकेको छ । प्रतिष्ठानको गुरुयोजनाअनुसार फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुष खेलाडीको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएशन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्