Logo

काठमाडौंमा ‘सेकेण्ड मेडिकल टुरिज्म एशिया समिट–२०१९’ को आयोजना (फोटोफिचर)



काठमाडौं, १२ पुष । काठमाडौंमा दुई दिने ‘सेकेण्ड मेडिकल टुरिज्म एशिया समिट–२०१९’ को आयोजना गरिएको छ । उक्त समिटको आज दोस्रो दिनमा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सम्बोधन तथा अस्पतालका विभिन्न स्टलहरुको अवलोकन गरेका छन् ।

काठमाडौंको ‘याक एण्ड यती’ होटलमा आयोजित उक्त समिटलाई सम्बोधन गर्दै मन्त्री ढकालले नेपालमा पनि स्वास्थ्य सेवाको क्षेत्रमा नयाँ ज्ञान र प्रविधिहरु भित्र्याउन सकिए विश्वमै नेपाल स्वास्थ्य क्षेत्रको केन्द्र बन्न सक्ने सम्भाव्यता औंल्याए । उनले भने,‘हामीले आफ्नो विश्वनियतालाई बढाउन सक्यौं भने त्यो अवसर हामीसँग छ, मलाई यो क्षेत्रको धेरै अनुभव छैन् । तर मैले गरेको अनुभुति के हो भने अहिलेपनि आँखा र दाँतलगायतका कतिपय विद्याहरुमा अन्तर्राष्ट्रिय क्षेत्रमा रहनुभएका साथीहरुले पनि सेवा लिनुपर्यो भने हाम्रो देशलाई छनौट गर्ने खालको जुन प्रक्रिया छ, हामीले केही विद्याहरुमा सुधार गर्न सक्यौं भने यो विश्वसनियताले हामी मेडिकल हबको रुपमा नै विकास हुन सक्ने सम्भावना छ ।’

मन्त्री ढकालले नेपालको स्वास्थ्य क्षेत्रमा काम गर्नेहरुले नेपाललाई मेडिकल हब बनाउनको लागि अग्रणी भूमिका खेल्ने पनि विश्वास दिलाए । उनले भने,‘यो क्षेत्रमा देखिएका सबैखाले समस्या समाधानको लागि र निकास दिनको लागि म समन्वयकारी भूमिका निर्वाह गर्ने कुराको विश्वास दिलाउन चाहन्छु । हाम्रा नियम, कानून र ऐनहरु यो कार्यका लागि बाधक बनेका छन् भने आउनुहोस छलफल गरौं, त्यसमा संशोधन गर्न सकिन्छ । कतिपय परिस्थितिहरु पूराना छन्, तीनले अहिलेका आवश्यकत्तालाई पूरा गर्न सक्दैन भने त्यसलाई पनि उन्नत बनाउन सकिन्छ ।’

उनले नेपालको स्वास्थ्य क्षेत्रलाई अघि बढाउन ऐन, कानूनमा केही कुरा छुटेको भएपनि नयाँ कानून थप्न सरकार प्रतिबद्ध रहेको विश्वास दिलाए । उनले अघि थपे,‘मैले यो मन्त्रालयको जिम्मेवारी भर्खर भर्खर सम्हालेको हुँ, अलिक ठूलो संरचना र व्यक्तिहरुको अपेक्षा र आकांक्षा धेरै रहेका छन्, ठूलो संरचना आफैंमा सम्हालिनका लागि अलिक धर्मराईरहेको अवस्थामा मैले प्राईभेट सेक्टरका साथीहरुसँग धेरै सम्वाद र सहकार्य गर्ने समय अहिलेसम्म प्राप्त गरेको छैन् । केही केही विषयहरु छन्, हामीले यो अस्पताल सञ्चालन गर्ने सन्दर्भमा सरकारको तर्फबाट १० प्रतिशत सेवाग्राहीहरुले सेवा पाउने सुनिश्चितताको कुरा गरेका छौं । यसको पारदर्शीता र विश्वसनीयताको मेकानिज्म के हो भन्नेबारेमा पनि हाम्रो बीचमा अलिक छलफल भयो भने सेवा दिईरहनुभएको साथीहरुको सेवापनि जनस्तरसम्म पुग्छ ।’

उनले ‘एक स्वास्थ्य संस्था, एक स्वास्थ्यकर्मी’ को बारेमा पनि चर्चा गर्दै थपे,‘यसो गर्दा सरकारी अस्पताल र प्राईभेट अस्पतालबीचको विभेदको स्थिति अथवा सेवाको स्थिति छ, यसलाई कसरी सन्तुलित गराउने ? निजी अस्पतालहरुप्रति सरकारको कुनै नकारात्मक दृष्टिकोणले यो कुरा उठाईरहेको छैन् ।’

उनले चिकित्सकहरुको सेवा तथा सुविधाको हकमा ‘मिनिमम–स्ट्याण्डर्ड’ अर्थात् न्यूनतम मापदण्ड कायम गर्न सकिए र ढुक्कका साथ चिकित्सक, नर्सहरुलाई सम्बन्धित संस्थामा काम गर्ने वातावरण बनाउन सकियो र २४ घण्टा नै सेवा दिने अवस्था बनाउन सकियो भने सेवाग्राहीहरु धेरै लाभान्वित हुनसक्ने तर्क गरे ।

कार्यक्रममा नेपाल मेडिसिटी हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले नेपाललाई मेडिकल टुरिजमको हब बनाउन सकिने विश्वास दिलाए । उनले भने,‘नेपाललाई मेडिकल हब बनाउनको लागि हामी सक्षम छौं, आर्थिक, बौद्धिक र मानसिक रुपमा पनि हामी यसलाई पूर्ण रुपमा अगाडि बढाउनसक्ने अवस्थामा छौं ।’

अब नेपालीहरुले उपचारको लागि विदेश जानुपर्ने बाध्यता नभएको पनि उनले जिकिर गरे । उनले भने,‘मानसिक र शारिरीक रुपमा पूर्ण तन्दुरुस्त बनाउन सक्छौं, नेपालीहरु उपचारको लागि अब विदेश जानुपर्दैन, यो विश्वास दिलाउन चाहन्छु ।’

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्