Logo

पौडेल समुहको आरोप : देउवाले पार्टीलाई धरापमा पारे, हिजोको निर्णय मान्दैनौं



काठमाडौं, १२ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले १४ औं महाधिवेशन कार्यतालिका र विधान मिचेर गरिएको विभाग गठन निर्णय नमान्ने चेतावनी दिएको छ । उक्त समूहले हिजोको केन्द्रिय कार्यसमितिले गरेको निर्णय सच्याउनुपर्ने माग राखेको छ ।

शनिबार महाराजगञ्जस्थित् महामन्त्री शशांक कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बरिष्ठ नेता पौडेलले यस्तो चेतावनी दिएका हुन् । उनले सभापति शेरबहादुर देउवाले पार्टीलाई धरापमा पार्ने निर्णय गराएको गम्भिर पनि आरोप लगाए।

उनले भने,‘पार्टीलाई धरापमा पारियो, हामीसँग जति भए पनि समय थियो। मंसिर ४ र ५ गतेतिर महाधिवेशन गराउनुपर्छ भन्ने हाम्रो माग थियो। तर ०७७ को पल्लाछेउमा लगेर महाधिवेशनको मिति तोकियो। यो नै डरलाग्दो कुरा हो।’

कार्यक्रममा नेता पौडेललगत्तै बोलेका महामन्त्री डा. शशांक कोइरालाले पनि सभापति देउवाको निर्णय कदमको विरोध गरे । उनले पार्टी एकताबद्ध भएर चलेमात्र कांग्रेसलाई जनताले मुलुक संचालनका लागि पालो दिने तर्क गरे । उनले भने,‘यदि गुट र उपगुट बनाउने हो भने जनताले हामीलाई पत्याउँदैनन् ।’

उनले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल भैरहेको बेलामा एक्कासी निर्णय गरेको भन्दै कडा आपत्ति जनाए । कोइरालाले सभापतिको निर्णयले कांग्रेसको अस्तित्व खतरामा पार्ने किसिमको भएको पनि टिप्पणी गरे ।

त्यस्तै, नेता प्रकाशमान सिंहले अन्तिम समयमा म्याद थपौँ भन्ने कुरा ठिक नभएको भन्दै देउवाको कदमको विरोध गरेका थिए । उनले कार्यसमितिले गरेको निर्णय लोकतान्त्रिक पार्टीभित्रको अलोकतान्त्रिक कदम भएको संज्ञा दिए ।

तस्विर सौजन्य : यु.पी. लामिछानेको फेशबुकबाट



प्रतिक्रिया दिनुहोस्