Logo

नयाँ पाठ्यक्रम अझै सार्वजनिक भएन, पुस्तक छपाई प्रभावित



पुष १२, काठमाण्डौ । आगामी शैक्षिक वर्षदेखि नयाँ पाठ्यक्रम प्रयोगमा ल्याउने निर्णय सरकारले गरेको थियो । पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रम तयार गर्ने जिम्मा पाएको थियो । तर नयाँ शैक्षिक सत्र शुरु हुन तीन महिना मात्र बाँकी हुँदासम्म पाठ्यक्रम सार्वजनिक नै भएको छैन । जसले गर्दा २०७७ को शैक्षिक सत्रमा पनि पुस्तक अभाव दोहोरिन सक्ने संकेत देखिएको छ ।

नेपालको शैक्षिक क्षेत्रमा देखिएको समस्यामध्ये एक हो पाठ्यक्रमको समस्या । जुन प्रत्येक वर्षको शैक्षिक सत्र शूरुवात भएदेखि चर्चामा आउने र दोहोरिने गर्छ । यसवर्ष पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रमको बारेमा सार्वजनिक सूचना दिन पनि ढिलाइ गरेको छ । अझ केही समय सूचना सार्वजनिक गर्ने संकेत देखिएको छैन । जसले गर्दा शैक्षिक सत्रको शूरुवात मै समस्या देखिने भएका छ । नेपालको शिक्षा क्षेत्रमा हरेक १० वर्षको अन्तरालमा सम्पूर्ण पाठ्यक्रम परिवर्तन हुने र प्रत्येक १ वर्षमा १ तहको परिवर्तन गर्नुपर्ने नियम छ ।

कुनै पाठ्यक्रम शिक्षा मन्त्रालययबाट स्वीकृती भएर आउँछ त कुनै पाठ्यक्रम विकास केन्द्रले पाठयक्रम स्वीकृत गरेर तयार गर्ने गर्छ । तर पाठ्यक्रम विकास केन्द्र र शिक्षा मन्त्रालयबीच समन्वय नहुँदा पाठ्यक्रम सार्वजनिक हुन सकेको छैन । केन्द्रका सुचना अधिकारी गणेशप्रसाद भट्टराईका अनुसार शिक्षा मन्त्रालयका कारण पाठ्यक्रम सार्वजनिक गर्न ढिलाई भएको हो ।

नयाँ पाठ्यक्रम सार्वजनिक गर्न ढिलाई भएकोबारे सरोकारवाला निकायलाई थाहा छ । तर सार्वजनिक कहिले गर्ने भन्ने कसैलाई पनि थाहा छैन । केन्द्रका सुचना अधिकारी भट्टराई स्वयम छिटै पाठ्यक्रम सार्वजनिक गरिने बताउँछन्, तर कति समयमा सार्वजनिक गर्ने भन्ने ठेगान छैन ।

आउँदो शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा ७ विषय पढाइ हुने छ । अहिलेसम्म ५ विषय पढाइ हुने गरेकोमा पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत गरेको नयाँ पाठ्यक्रम संरचनाले २ विषय थप गरेको हो । कक्षा ९ र १० मा अहिलेसम्म ८ विषय पढाइ गरिएकोमा आउँदो शैक्षिक सत्रदेखि भने ७ विषय मात्रै पठनपाठन हुनेछ । कक्षा ६ देखि ८ सम्म पढाइ हुँदै आएको नागरिक वा पेशाव्यवसाय विषय हटाइएको छ ।



प्रतिक्रिया दिनुहोस्