Logo

सात वर्षदेखिको पैसा लिन मालिक खोज्दै किसान काठमाडौंमा



काठमाडौं, पुस १३ । पैंसट्ठी वर्षको पूरै जीवन उनले गाउँमा बिताए । सर्लाहीको सिसौटिया गाउँ नै हरिहर महतोको संसार हो । त्यहाँ उनको एउटा झुपडी छ र अलिक पर दुई बिघा खेत । महतोले त्यही घर र खेतको दूरी नापेरै जिन्दगी बिताए । बिहान घरबाट खेतमा जाने र साँझ खेतबाट घर फर्किने नित्य क्रम चलिरहँदा देशमा धेरैखाले परिवर्तन भए ।

खेतको लहलह उखु बाली स्याहार्दास्याहार्दै उनले पाँच वर्षले कान्छी पतियादेवीसँग बिहा गरे, दुई छोरा हुर्काए । आक्कलझुक्कल सदरमुकाम मलंगवासम्म पुगेका हरिहर यसपाला भने जीवनकै लामो यात्रा गरे र आइपुगेका छन् संघीय राजधानी काठमाडौं ।

उनको दिनचर्या पनि फेरिएको छ अहिले । बिहानै उठ्छन्, माइतीघर मण्डल पुग्छन्, निरक्षर उनी विभिन्न नारा लेखिएको तुलको एक कुना समातेर दिनभरि सडकमा गुडिरहेका गाडीहरू ट्वाल्ल हेरिरहन्छन् ।

घाम डुबेपछि वाग्मतीको किनारमा उभिएको एक झुपडपट्टीमा गएर टाउको घुसार्छन् जहाँ छ महिनादेखि कबाडीको काम गर्दै काठमाडौं सहरलाई दिनहुँ खुट्टाले नापिरहेका उनका जेठा छोरा गणेश बस्दै आएका छन् । महतोको यस्तो दिनचर्या शनिबार छैटौं दिनमा चल्दै थियो । ‘मेरो पैसा खाइदियो साहुले,’ उनी भन्छन्, ‘त्यो लिन भनेर काठमाडौं आएको छु ।’



प्रतिक्रिया दिनुहोस्