Logo

चिकित्सा पर्यटनको सम्भावना छ



काठमाडौँ, १३ पुस । नेपालमा चिकित्सा पर्यटनको सम्भावना भए पनि त्यसका लागि पहल नभएको विशेषज्ञहरुले औल्याएका छन् । अझै नेपालमा उपचार गराउनकै लागि विदेशी पर्यटक आउने अवस्था शून्य प्रायः नै छ । नेपाल, भारत, कोरिया, दुबई, थाइल्यान्ड लगायतका विशेषज्ञ सम्मलित दोस्रो चिकित्सा पर्यटन एसिया शिखर सम्मेलनको दोश्रो दिन शनिबार उक्त कुरा औंल्याइएको हो। उक्त सम्मेलन एक्सप्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्स तथा नेपाल मेडिकल टुरिजम अर्गनाईजेसनले आयोजना गरेको हो।

विशेषज्ञहरको अनुसार बिदा मनाउन नेपाल आउने गरेका विदेशी पर्यटकलाई अपर्झट कुनै चिकित्सा स्याहार चाहिँदा नै उनीहरु मुख्य रुपमा यहाँको स्वास्थ्य सेवा लिने गरेका छन्। ‘यहाँ लामो समयदेखि नेपालमा बस्दै गरेका विदेशीहरु, सिमावर्ती छिमेकी मुलुकका नागरिकलाई स्वास्थ्य पर्यटनको आधार मान्ने स्थिति छ’, त्रिवि शिक्षण अस्पतालका डा।प्रमेश सुन्दर श्रेष्ठले भने। उनका अनुसार चिकित्सा पर्यटनको माध्यमले मुलुकका चिकित्सा निकायहरुले अत्यधिक आम्दानी गर्न सकिने भए पनि व्यवहारमा अझै यो लागु हुन सकेको छैन। विदेशको तुलनमा अत्यन्त सस्तो शुल्कमा सेवा दिन सकिने चिकित्सा पर्यटनको प्रचुर सम्भावना रहेपनि अझै यसलाई व्यावसायिक रुप दिन सकिएको छैन। पश्चिमा मुलुकमा आईसियुमा मेकानिकल भेन्टिलेटरमा राख्दा १० हजार ७ सय ९४ अमेरिकी डलर वा बिना भेन्टिलेरको ६ हजार ६ सय ६७ अमेरिकी डलर पर्ने गरे पनि नेपालमा भने भेन्टिलेटरमा राख्दा ५ सय डलर र बिना भेन्टिलेटरको राख्दा ४ सय डलर पर्ने अवस्था रहेको डा।श्रेष्ठ बताउँछन्।

विज्ञहरुका अनुसार विदेशी नागरिकको लागि नेपालमा उपचार शुल्क २१ गुणासम्म सस्तो हुन सक्छ। मुलुकका धेरैजसो निजी अस्पतालमा आईसियु, क्रिटिकल केयर सेवा राम्रो हुनुका साथै विदेशी बिरामीलाई हेर्ने विशेष व्यवस्था समेत छ। बिरामी हेर्दा भाषा अनुवादकको समेत व्यवस्था छ। मुलुकमा चिकित्सा पर्यटनको विकास हुने प्रचुर सम्भावना रहेको औंल्याउदै वरिष्ठ मृगौला रोग विशेषज्ञ डा।ऋषिकुमार काफ्लेले भने, ‘डायलासिस, मृगोला प्रत्यारोपणमा हाम्रो सेवा विदेशी गुणस्तरको छ।’ मुलुक घुम्न आउनेहरुमध्ये केही नियमित डायलासिस गराउने स्थितिमा समेत हुने भएकाले डायलासिस चाहिने व्यक्तिका लागि गुणस्तरिय भ्रमणको सुनिश्चिता गरे मुलुकले धेरै आम्दानी गर्न सकिने बताए। विदेशी गुणस्तरको थेरापी, उपचार मुलुकमा धेरै कम मूल्यमा दिन सकिने भएकोले चिकित्सा पर्यटन मुलुकले आर्थिक विकास गर्ने एउटा महत्वपूर्ण विषय रहेको डा। धिरज नारायण मानन्धरले बताए।

सम्मेलन आयोजक समितिका अध्यक्ष कृष्ण पाण्डेले नेपालमा स्वास्थ्य पर्यटनमैत्री नीति, नियम कानुन, संरचनाको अभावले यो क्षेत्रले उपयुक्त गति लिन नसकेको दुखेसो समेत पोखे। उनले मुलुकको अस्पताललाई अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गरेर चिकित्सा पर्यटनबाट उल्लेख्य विदेशी मुद्रा कमाउन सकिने समेत बताए।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्