Logo

प्रदेशमा छैनन् उपसचिव



काठमाडौँ, १३ पुस । सातवटै प्रदेशका मन्त्रालय तथा मातहतका निकायहरूमा प्रशासनतर्फका उपसचिवको अभाव छ । कुनै प्रदेशमा एक जना पनि उपसिचव छैनन्, कुनैमा ३र४ जना मात्रै छन् । प्रदेशमा मन्त्रालयका महाशाखा, निर्देशनालय तथा कार्यालय प्रमुखको जिम्मेवारी उपसचिवले सम्हाल्ने गरी संगठन संरचना छ ।

प्रदेश मन्त्रिपरिषद् वा मन्त्रालयबाट भएका निर्णय कार्यान्वयनको प्रमुख अभिभारा उपसचिवस्तरकै कर्मचारीको जिम्मेवारीमा रहन्छ । उपसचिव नहुँदा कामलाई गति दिन समस्या भएको प्रदेशहरूले गुनासो गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशमा प्रशासनतर्फ २६ उपसचिवको दरबन्दी छ, तर सबै पद रिक्त छन् । कर्णाली प्रदेशको हालत पनि त्यस्तै छ । २३ दरबन्दीमा एक जना पनि छैनन् । सुदूरपश्चिम मुख्यमन्त्री कार्यालयका प्रशासन सचिव अर्जुन पोखरेलले कर्मचारी प्रशासनमा ‘की पोस्ट’ मानिने उपसचिवको अभावले काममा ढिलाइ भइरहेको बताए । सातवटै प्रदेशमा प्रशासन समूहका १ सय ९२ जना उपसचिवको दरबन्दी छ ।

गत वर्ष भएको कर्मचारी समायोजनमा १०र१२ जना उपसचिवले मात्रै प्रदेश रोजेका थिए । ती पनि आफैंले माग गरेका प्रदेशमा गए । तीमध्ये केहीले अवकाश पाइसकेका छन् । नयाँ पदपूर्ति भएको छैन । करिब ८ सय उपसचिवमा ९९ प्रतिशतको समायोजन संघमा भएको छ । दरबन्दी संघमा कायम भएपछि समायोजनपूर्व प्रदेशमा खटिएकाहरू पनि फर्किसकेका छन् । समायोजनपछि प्रदेशमा रिक्त दरबन्दीमा पदपूर्तिको अधिकार प्रदेशलाई नै छ, तर उपसचिवमा बढुवाबाट पदपूर्ति गर्नुपर्छ । संघीय निजामती सेवा ऐन बनिनसकेकाले प्रदेशमा पनि प्रदेश निजामती ऐन बनेको छैन । प्रदेश लोकसेवाले पनि काम थालिसकेको छैन । ऐन बन्न र प्रदेश लोकसेवा ‘फुल फंक्सन’ मा कहिले आउने भन्ने टुंगो छैन । प्रदेशहरूले काममा बाधा भयो भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग उपसचिव मागिरहेका छन् । तर संघमै करिब २ सयभन्दा बढी उपसचिव पद रिक्त छन् । प्रदेश १ मा ३२ उपसचिवको दरबन्दी भए पनि तीन जना मात्रै समायोजन भएर गएका छन् । त्यहाँका प्रमुख सचिव सुरेश अधिकारीले उपसचिवको अभावमा कठिनाइ भइरहेको बताए । प्रदेश ५ को मुख्यमन्त्री कार्यालयका प्रशासन सचिव टेकनारायण पाण्डेले तत्कालै कम्तीमा १० जना उपसचिव पठाइदिन संघीय ममिला मन्त्रालयलाई आग्रह गरिएको बताए ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले प्रदेशमा कर्मचारीको अभावबारे गुनासो आइरहेको बताए । तत्कालका लागि संघबाटै केही उपसचिवलाई काजमा खटाउन गृहकार्य भइरहेको उनले कान्तिपुरलाई बताए । ‘संघका मन्त्रालय, विभागमा रहेका उपसचिवमध्येबाट १र२ जना घट्दा वैकल्पिक उपाय निकाल्न सकिन्छ तर प्रदेशमा एक जना पनि उपसचिव नहुँदा काममै समस्या भएको देखिन्छ,’ उनले भने । प्रदेशमा उपसचिवको अभावले दैनिक कामकाजमै समस्या हुन थालेपछि मन्त्रालयको प्रशासन महाशाखा प्रदेशमा पठाउन सकिने उपसचिवको खोजीमा छ । संघकै उपसचिवलाई केही समयका लागि प्रदेशमा पठाउने तयारी मन्त्रालयको देखिन्छ । महाशाखा प्रमख सहसचिव बाबुराम अधिकारीले प्रत्येक प्रदेशमा कम्तीमा ५ र ५ जना प्रशासनको उपसचिवलाई पठाउने गरी नाम संकलन भइरहेको बताए । ‘संघको केही दरबन्दी केही दिन खाली राखेर भए पनि सबै मन्त्रालयबाट २र३ जना उपसचिव तान्ने प्रयास गरिरहेका छौं,’ उनले भने, ‘दरबन्दी संघमै रहने भएकाले उहाँहरूलाई काजमा पठाइनेछ ।’
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्