Logo

डीआइजीलाई चक्कु ताकेपछि…



काठमाडौं, पुस १३ । शुक्रबार राति ९ बजे महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल डीआइजी सहितको टोली सडक अनुगमनमा थियो । टोलीमा काठमाडौं महानगरपालिका, मानवसेवा आश्रम, प्रहरी, पत्रकार र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु सहभागी थिए ।

काठमाडौंको कमलादीस्थित गणेशमन्दिर नजिक सडकछेउमा बन्दोबस्तीको ओढ्ने ओछ्याउनेसहित एक दम्पती सुत्ने तरखरमा थिए । चिसोका कारण खोकी लागेकाले श्रीमती औषधि खाँदै त श्रीमान् मदिरामा लठ्ठ भेटिए ।

प्रहरी र अभियानकर्मीले उनीहरुलाई फकाउँदै सडकमा नबस्न अनुरोध गरे । महिला आश्रममा जान मानिनन् । उनले मोबाइल उठाउँदै कुनै एक व्यक्तिलाई फोन गरेजस्तो गरेर आफूलाई लैजान लागेको कुरा सुनाइन् । नमाने जसरी पनि लैजाने प्रहरीले अडान कसे । महिलाले भनिन्, ुभोलि आफ्नै घर जान्छौँ, आज छाडी दिनुस् ।ु यसरी उनले अनुरोध गरेको यो तेस्रो पटक थियो ।

सहज रुपमा उठ्न नमानेपछि प्रहरी र अभियानकर्मीले उठाउने प्रयास गर्दागर्दै उनले सिरानबाट चक्कु निकालिन् । म पनि इन्सपेक्टरको छोरी हुँ, ल आइज त मेरो नजिक, सबैलाई सिध्याउँछु, पुलिसलाई नि हान्छुु, उनी चक्कु ताक्दै घुम्न थालिन् । अश्लील शब्दसमेत प्रयोग गरिन् । सामुन्ने रहेका डीआईजी पोखरेल पनि छक्क परे । एकछिन त सबै अक्क न बक्क भए ।

गाडीमा बसिसकेका श्रीमान्‌लाई फिर्ता ल्याई दिने शर्त राखेपछि उनले चक्कु थन्याइन् । अभियानकर्मीले चक्कु खोसेपछि बल्ल उनी आश्रम जान तयार भइन् । घर धादिङको नौबिसे बताउने दम्पती मन्दिरमा मागेर बस्ने गरेको निक्कै लामो समय भइसक्यो । स्थानीयका अनुसार यो दम्पती दिउँसोमा विभिन्न अश्लील बोल्दै मानिसलाई थर्काउने र हल्लाखल्ला गर्ने ध्येका प्रमुख हुन् ।

शान्ति सुरक्षामै चुनौती हुने गरी बेलाबेलामा यस्ता हर्कत सडकमा हुने गरेका छन् । टेकुस्थित एक घरको सिँढीमा सुतिरहेका एक जमातलाई पनि राति नै उद्धार गरियो । स्थानीयका अनुसार उनीहरु भट्टीमा बसेर मदिरा पिउने अनि हरेक दिन चोकमा झैझगडा गर्दै आएका थिए । यहाँ महिला पुरुष एउटै गुँड बनाएर सुतिरहेका भेटिए ।



प्रतिक्रिया दिनुहोस्