Logo

तनावले आत्महत्या



चरिकोट, पुस १३ । तनावका कारण अकालमा ज्यान गुमाउनेको संख्या दोलखा जिल्लामा बढ्दै गएको छ। औसतमा हरेक साता एक जनाले आत्महत्या गर्ने गरेको पाइएको छ। चालु वर्षको ४ महिनामा मात्र ५ पुरुष र ४ महिलाले आत्महत्या गरेको दोलखा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए। उनका अनुसार घरेलु हिंसा, बेरोजगार, पारिवारिक बेमेल, तनावलगायत कारण आत्महत्या गर्नेको संख्या बढ्दै गएको हो।

०७३÷७४ मा २५ पुरुष र १५ महिला गरी ४० जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ। त्यो संख्या ६० प्रतिशतले बढेर ०७४÷७५ मा पुरुष ४६ र महिला २० गरी ६६ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अघिल्लो वर्ष सो संख्या केही घटेजस्तो देखिए पनि पुरुष २७ र महिला १७ गरी ४४ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।

०६८ सालको जनगणनाअनुसार दोलखाको एक लाख ८६ हजार पाँच सय ७५ मध्ये शून्य दशमलव शून्य २ प्रतिशत मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ। आत्महत्या गर्नेको सूचीमा अधिकांश वयष्क उमेरका पुरुष तथा महिला रहेको पाइएको छ। चरिकोट अस्पतालमा मात्र मासिक करिब एक सय १० जना डिप्रेसनमा परेका बिरामी उपचारका लागि आउने गरेको सूचना अधिकारी शान्तिप्रसाद न्यौपानेले जानकारी दिए।अन्नपूर्ण पोस्ट्बाट



प्रतिक्रिया दिनुहोस्

Screenshot