Logo

डोजर मालिक जनप्रतिनिधि



काठमाडौँ, १३ पुस । जाजरकोटको छेडागाड नगरपालिका–११ का वडाध्यक्ष चक्र सिंहका भाइ डिल्लीको डोजर छ । वडामा सडकका काममा उनकै डोजर प्रयोग हुन्छ । ‘बाहिरका डोजरवालाले त वडामा छिरौंला भनेर नसोचे हुन्छ,’ एक स्थानीय भन्छन् ।

दैलेखको गुराँस गाउँपालिकामा डोजरबाट सडक खनिँदै । चक्र जस्तै जाजरकोटसहित कर्णालीका थुप्रै स्थानीय तहका जनप्रतिनिधि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा डोजर सञ्चालनमा संलग्न छन् । डोजरमा लगानी गरेका छन् । सडकका योजना आफैंले छनोट गर्न पाएपछि डोजरमा लगानी बढेको हो । आफ्नो वा आफन्तको डोजर नभए बाहिरबाट कमिसन खाने गरी ल्याउँछन् । जाजरकोटकै भेरी नगरप्रमुख चन्द्रप्रसाद घर्तीका भाइको पनि डोजर छ । नगरका काम ठेक्काबाट होस् वा उपभोक्ता समितिबाट, उनकै डोजर बढी प्रयोग हुने गरेको स्थानीय बताउँछन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती पनि डोजर मालिक हुन् । ७ नम्बरका वडाध्यक्ष चन्द्रबहादुर शाहीले पनि छोराद्वारा काम गराउँदै आएका छन् । नलगाड–३ का वडाध्यक्ष प्रचण्ड वली र ८ का वडाध्यक्ष गोविन्द शाही पनि डोजर मालिक हुन् । ‘एउटा डोजर त नगरपालिकाको आफ्नै पनि छ, अरूका डोजर पनि छन्,’ भेरी नगरउपप्रमुख भावना भण्डारीले भनिन्, ‘जसले सस्तोमा गर्छ, उसैलाई काम जिम्मा दिन्छौं ।’

मुगुको सोरु–१ का वडाध्यक्ष महेन्द्र शाही, २ का वडासदस्य कर्णजंग शाही र ७ का वडाध्यक्ष राजेन्द्र बुमीसँग पनि डोजर छन् । स्थानीय डम्मर शाही जनप्रतिनिधि नै डोजर मालिक भएर विकासको नाममा हालीमुहाली गरेको बताउँछन् । ‘जनप्रतिनिधिले गर्दा गाउँका युवा बेरोजगार छन्,’ उनले भने, ‘स–साना योजनामा पनि डोजर लगाइहाल्छन् ।’ डोजरका कारण काम गरिखाने स्थानीयको रोजीरोटीसमेत खोसिएको उनले बताए । उनका अनुसार खत्याड–२ र ४ का वडाध्यक्षको पनि डोजरमा लगानी छ । जुम्लाको तातापानी गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायका श्रीमान् दीपकको नाममा डोजर छ । त्यहाँ सडक निर्माणमा अरूले छिर्न पाउँदैनन् । प्रायस् जनप्रतिनिधिका घरका सदस्य र विश्वासिला आफन्तका नाममा डोजर छन् । जाजरकोट, जुनीचाँदेका स्थानीय विर्षबहादुर शाही कतिपय ठाउँमा स्थानीय तहका प्रमुख र उपप्रमुखको समन्वयमा डोजर भित्र्याइएको बताउँछन् ।

उनले भने, ‘जनप्रतिनिधिले आफू नदेखिएरै यो धन्दा चलाइरहेका छन् ।’ जाजरकोटमा डोजर मालिक जनप्रतिनिधिको सूची लामो छ । कुशे–६ का वडाध्यक्ष अम्मर शाहीले भाइको डोजरमा लगानी गरेका छन् । कुशे–२ का वडाध्यक्ष जनक शाही र ३ का वडाध्यक्ष टेकबहादुर हमाल पनि डोजर मालिक हुन् । गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसीले भने डोजर भाडामा ल्याएर आफू निकटलाई चलाउन दिएको स्थानीयको आरोप छ । बारेकोट गाउँपालिकामा त तीनजना वडाध्यक्षले संयुक्त रूपमा डोजरमा लगानी गरेका छन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्