Logo

अलैंची उत्पादन बढ्यो, भाउ घट्यो



काठमाडौँ, १३ पुस । मर्स्याङ्दी गाउँपालिका–५ सञ्जापुकी दिलमाया गुरुङले गत वर्ष २ क्विन्टल ५८ किलो अलैंची फलाइन् । प्रतिकिलो ७ सय ३० रुपैयाँका दरले १ लाख ८८ हजार कमाइन् ।

लमजुङको ग्रामीण क्षेत्रबाट बिक्रीका लागि बेंसीसहर ल्याइएको अलैंची ‘ग्रेडिङ’ गर्दै । यस वर्ष उनको बगानमा ४ क्विन्टल बढी अलैंची फल्यो । प्रतिकिलो ६ सयमा बिक्री गरिन् । तर २ लाख ४२ हजार रुपैयाँ मात्र कमाइन् । ‘अलैंची उत्पादन बढे पनि मूल्य घटेको छ,’ उनले भनिन् । बेसीसहर नगरपालिका १० खाँचेका बैंसबहादुर तामाङले गत वर्ष २ क्विन्टल अलैंची फलाए । ७५० का दरले डेढ लाख आम्दानी भयो । यस वर्ष ३ क्विन्टल ४५ किलो अलैंची फले पनि त्यसबाट उनलाई २ लाख १४ हजार रुपैयाँ मात्र कमाइ भयो ।

केही वर्षयता नयाँ बोट लगाउनेको अलैंची उत्पादन बढेको खाँचेका किसान सोमबहादुर तामाङले जानकारी दिए । पुराना बोट नफालेकाको भने उत्पादन घटेको छ । उनका अनुसार सञ्जापुमा मात्रै यस वर्ष ५७ क्विन्टल अलैंची उत्पादन भएको छ । किसानले ४ वर्षअघि प्रतिकिलो २ हजार २ सय रुपैयाँमा समेत अलैंची बिक्री गरेको उनले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ९अलैंची० जोन कार्यक्रम सञ्चालन भएको जिल्लामा अलैंची खेतीको क्षेत्रफल, उत्पादन क्षेत्रफल र उत्पादन बढ्दै गएको अलैंची व्यवसायी महासंघ र जोन सञ्चालक समितिले जनाएको छ । भाउ घटे पनि अलैंची बढी उत्पादन हुँदा आम्दानी बढेको अलैंची जोन सञ्चालक समितिका अध्यक्ष एवं अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष अजय तामाङले बताए । १ हजार ५० हेक्टर क्षेत्रफलमा अलैंची खेती गरिएको उनको भनाइ छ । त्यसमा २ सय टन ९२ हजार क्विन्टल० अलैंची उत्पादन भएको छ ।

यस वर्ष प्रतिकिलो ५ सयदेखि ६ सय ४० रुपैयाँसम्म अलैंची बिक्री भएको उनले जानकारी दिए । धेरैजसो अलैंची प्रतिकिलो ६ सय रुपैयाँभन्दा बढीमा बिक्री भएको छ । औसत प्रतिकिलो ६ सय रुपैयाँका दरले बिक्री हुँदा १२ करोड रुपैयाँ आम्दानी भएको उनले बताए । गत वर्ष प्रतिकिलो ७ सयदेखि ७ सय ५० रुपैयाँसम्म बिक्री भएको थियो । ९ सय ५० हेक्टरमा अलैंची खेती गरिएकोमा गत वर्ष ७ सय ५० क्विन्टल उत्पादन भएको थियो । आव ०७४र७५ मा ७ सय २१ क्विन्टल अलैंची उत्पादन भएको अलैंची व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्ला वर्षहरूमा अलैंची उत्पादन न्यून देखिएको र राम्रोसँग तथ्यांक लिन नसकिएको अलैंची जोन कार्यालय र जोन सञ्चालक समितिले जनाएको छ । गण्डकी प्रदेशमा बढी अलैंची फल्ने जिल्ला लमजुङ हो ।

करिब दुईदेखि तीन दशकसम्मका बिरुवासमेत रहेकाले अलैंचीका बोटमा पछिल्लो समय रोगकिरा लागेको अलैंची जोन प्रमुख ईश्वरीप्रसाद नेउपानेले बताए । लमजुङमा रामशाई, गोलशाई, जिर्मले, साउने, भर्लांगेलगायत अलैंचीको खेती गरिँदै आएको छ । पछिल्लो समय ४ वटा गाउँपालिका र ४ वटै नगरपालिकामा अलैंची खेती गरिएको उनले जानकारी दिए ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्