Logo

काँकडभिट्टा–इनरूवा रेलवे, साढे ८ हजार रुख काटिने



काठमाडामैँ, १३ पुस । काँकडभिट्टा–इनरुवा रेलवे आयोजना निर्माणका लागि ८ हजार ५ सय रुख काट्नुपर्ने भएको छ । प्रस्तावित रेलवे लाइन निर्माणका लागि झापा र मोरङका पाँच सामुदायिक वनका रुख काट्नुपर्ने भएको हो ।

बिर्तामोड नगरपालिकास्थित चारआली जंगल । काँकडभिट्टा–इनरुवा रेलवे लाइनले १९।६० हेक्टर वन क्षेत्र प्रभावित हुने आयोजनाको वातवरणीय प्रभाव मूल्यांकन ईआईए अध्ययन प्रतिवेदनमा उल्लेख छ । मोरङतर्फ महिला जागृति, सीताछदारे र ग्रामीण सुन्दर सामुदायिक वनका रुख काट्नु पर्नेछ । हातेमालो सामुदायिक वनको ६।१२ र सुन्दर निचाझोडा सामुदायिक वनको ६।१ हेक्टर क्षेत्रका रुख काट्नुपर्ने रेलवे लाइन निर्माण आयोजनाका तर्फबाट ईआईए अध्ययनमा खटिएका वातावरणविद् रिकेश चित्रकारले जानकारी दिए । ग्रामीण सुन्दर सामुदायिक वनको ३।१०, महिला जागृतिको ३।०४ र सीताछदारेको १।२३ हेक्टर क्षेत्रका रुख काट्नुपर्ने उनले बताए । यी वनबाट साना र वयष्क गरी ८ हजार ४ सय ३० वटा रुख काट्नुपर्ने उनको भनाइ छ ।

‘प्रतिघण्टा २ सय किमि गतिमा चल्ने विद्युतीय रेल निर्माण गर्न लागेकाले वन क्षेत्र छलेर रेलवे लाइन निर्माण गर्न असम्भव देखियो,’ चित्रकारले भने । काटिने रुखको क्षतिपूर्ति कानुनअनुसार उपलब्ध गराउने उनले बताए । ‘एउटा रुख बराबर २५ वटा बिरुवा रोप्ने गरी क्षतिपूर्ति दिने व्यवस्था गरेका छौं,’ उनले भने । रोपिएका बिरुवाहरूको ५ वर्षसम्मको सुरक्षा लागतसहितको सबै प्रभावित र काटिएका रुखको शोधभर्ना गर्ने रेलवे आयोजनाको प्रतिबद्धता छ । साढे ८ हजार रुख काट्दा २ लाख १० हजार ७ सय ५० नयाँ बिरुवा रोपिने चित्रकारले बताए । स्थानीय सामुदायिक वन र उपभोक्ता समूहसँगको समन्वयमा दुई वटा नर्सरी स्थापना गर्ने रेल विभागले जनाएको छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्