Logo

शशांक कोइरालाको घोषणा : देउवालाई सभापतिबाट नहटाएसम्म विश्राम लिन्न (भिडियोसहित)



काठमाडौं, १३ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवालाई सभापतिबाट नहटाएसम्म आफूले विश्राम नलिने स्पष्ट पारेका छन् । शनिबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यंक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

हिजो बसेको केन्द्रिय कार्यसमितिको निर्णयले महाधिवेशनको कार्यतालिकालगायत महत्वपूर्ण निर्णय गरेपछि महामन्त्री कोइरालालगायतका नेताहरु असन्तुष्ट बनेका छन् । यही सन्दर्भमा पत्रकार धमलाले कोइरालासँग विशेष अन्तर्वार्ता लिएका छन् । उक्त कुराकानीमा कोइरालाले आगामी महाधिवेशन सम्पन्न नभएसम्म पार्टीका कुनैपनि बैठकमा सहभागिता नजाउने घोषणासमेत गरेका छन् ।

उनले सभापति देउवाले पार्टीलार्य भताभुङ पारेको आरोपसमेत लगाएका छन् । यद्धपी १४औं महाधिवेशनको कार्यतालिकामा भने आफ्नो कुनैपनि विमति नरहेको उनको जिकिर छ । उनले भने,‘उहाँले एकलौटी निर्णय किन गर्नुभयो ? यसमा हाम्रो आपत्ति हो ।’

महामन्त्री कोइरालाले नेविसंघको तदर्थ समितिको अध्यक्षमा राजिव ढुंगानालाई बनाउने देउवाको प्रस्ताव रहेको पनि जानकारी दिए । उक्त प्रस्तावमा तीन जना महामन्त्रीमा क्रमशः बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार र सभापति देउवालाई एक–एक जना राख्ने कुरा उल्लेख रहेको पनि उनले जानकारी दिए ।

कोइरालाले पार्टीभित्र सभापति देउवा कमजोर रहेको बताउँदै आउने महाधिवेशनमा परास्त गर्ने समेत सार्वजनिक घोषणा गरे । उनले भने,‘देउवाजीको बहुमत केन्द्रिय समितिमा मात्रै छ, उहाँ पार्टीभित्र बहुमतमा हुनुहुन्न, कार्यकर्ताले उहाँलाई रुचाएका छैनन् ।’



प्रतिक्रिया दिनुहोस्