Logo

‘द लिडर, स्पिच स्टार’ को फाईनल बैशाखमा, विजेतालाई स्कुटरसहित नगद पुरस्कार दिने घोषणा



काठमाडौं, १३ पुष । कस्मिक मिडिया प्रा.ली.को आयोजनामा सञ्चालित ‘द लिडर, स्पिच स्टार’ को विजेतालाई स्कुटरसहित नगद २० हजार दिईने घोषणा गरिएको छ । टिभी टुडेमार्फत प्रशारित उक्त कार्यक्रमको बारेमा आयोजक संस्थाले आज (आईतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो ।

आयोजक संस्थाले जारी गरेको विज्ञप्तीअनुसार कस्मिक मिडिया प्रा.ली.ले विगत असारदेखि ‘द लिडर, ‘स्पिच स्टार’ ‘मभित्रको मेरो आवाज’ नामक कार्यक्रमको लागि काठमाडौं उपत्यकाव्यापी अडिसन लिएको हो । विज्ञप्ती भनिएको छ,‘टिभी टुडेमार्फत २०७६ असोजको पहिलो साताबाट प्रत्येक बुधबार राति ९ः०० बजेदेखि ९ः५५ बजेसम्म प्रशारण भैरहेको पनि जानकारी गराउँछौं । हाम्रो कार्यक्रमको मुख्य उद्देश्य भनेको नै समाजमा भएका विद्यमान विकृतिहरु अन्त्यको लागि सशक्त आवाज पैदा गर्नु नै हो । यसको लागि हामीले यो कार्यक्रममार्फत समाजको प्रत्येक क्षेत्रको लिडर जन्माउने प्रण गरेका छौं । सोहीअनुसार अहिले उक्त कार्यक्रमको १३औं एपिसोड सफलतापूर्वक सम्पन्न गरिसकेका छौं । यहाँसम्म आईपुग्दा सबै महानुभावहरुबाट न्यानो साथ र समर्थन पनि पाएका छौं ।’

कार्यक्रम निर्माता तथा संस्थापक रमेश पोखरेलले उक्त कार्यक्रममा विशेषतः कक्षा १०, ११ र १२ का विद्यार्थीहरुलाई सहभागी गराईएको जानकारी दिए । ‘युवा पुस्ताबाटै समाजको सशक्त आवाज जन्माउन सकिने उद्देश्यले हामी स्कुल र प्लस टुमा बढि केन्द्रित भएका हौं । उनीहरुको प्रस्तुति हेर्दा हामी मोटामोटी आफ्नो कार्यक्रमको उद्देश्यमा सफल भैसकेका छौं । यो कार्यक्रमबाट छानिएका आवाजहरु भोलिका दिनमा समाजलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउनको लागि पनि प्रभावकारी भूमिका निर्वाह गर्नेमा हामी पूर्ण विश्वस्त छौं ।’–उनले भने ।

उनले आफूहरुले राजनीतिक रुपमा नेता जन्माउने नभई समाजको लिडर जन्माउन लागेको स्पष्ट पारे । उनले भने,‘समाजको लिडरले नै भोलिका दिनमा जनताको मन र मत जितेर नै देशको लागि पनि सशक्त नेतृत्वदायी भूमिका खेल्ने कुरा म यहाँहरुसमक्ष विश्वास दिलाउन चाहन्छु । हामीले उत्पादन गरेका लिडर काठमाडौंमा बस्ने छैनन् । बरु, उनीहरु गाउँ गाउँ र टोल टोलमा आवाज उठाउने हुनेछन् । सुख, सयलमा खुशी भन्दापनि जनताको सेवा गर्दा उनीहरु खुशी हुनेछन् । देश रुपान्तरणको लागि धेरै नेताहरु यो माटोले पाईसकेको छ । तर, समाजको आवाज उठाउने नेताहरु भने अहिलेसम्म हामीले पाउन सकेका छैनौं । यही कार्यक्रममार्फत हामी समाजको आवाज सशक्त र प्रभावशाली रुपमा उठाउने लिडर जन्माउने प्रण गर्दछौं ।’

आयोजकका अनुसार उक्त कार्यक्रमको फाईनल आगामी बैशाखको पहिलो हप्तातिर सम्पन्न गर्नेगरि तयारी छ । पोखरेलले भने,‘अहिले अडिसनहुँदै हामी क्वार्टरफाईनलको चरणमा आईपुगेका छौं । यहाँसम्म आईपुग्दा ४० जना प्रतिष्पर्धीहरु क्वाटरफाईनलमा हुनुहुन्छ । उहाँहरुमध्येबाट अब २८ जना सेमिफाईनलमा प्रवेश गर्नुहुनेछ । फाईनलमा १५ जनाबीच प्रतिष्पर्धा हुनेछ । तीमध्येबाट यो समाजले एक जना लिडर पाउनेछ ।’

प्रतियोगितामा ख्याँतिप्राप्त मोटिभेश्नल स्पिकर महेश अर्याल, लेखक तथा पत्रकार गीता मैनाली, शिक्षण पेशामा चार दशक समय बिताएका भरत देवकोटाको निर्णायकको भूमिका रहेको छ । उक्त प्रतियोगितामा सुदर्शन नेपालीको निर्देशन रहेको छ । प्रतियोगिताको उद्घोषण भने मिन तामाङले गर्दै आएकी छिन् ।

आयोजकका अनुसार प्रतियोगिताका प्रथम विजेताले स्कुटरसहित नगद २० हजार, दोस्रो विजेताले ल्यापटपसहित नगद १५ हजार र तेस्रो विजेताले मोवाईलसहित १० हजार नगद पाउनेछन् । फाईनल प्रतिष्पर्धीहरुले उनीहरुले चाहेको आईटी प्रशिक्षण निःशुल्क प्रदान गरिनेछ ।

पोखरेलले विकासको नाममा प्रत्येक वर्ष अत्यधिक मात्रामा बजेट आउने गरेको सुनाए । तर, विकास हुन नसकेको उनको गुनासो छ । ‘हामीले यस कार्यक्रममार्फत नेता उत्पादन गर्ने हैन् । हमी विभिन्न क्षेत्रमा सामाजिक लिडर उत्पादन गर्न यो कार्यक्रमलाई संचालनमा ल्याएका हौँ । भरपुर समय नभएको कारण हामी कार्यक्रमलाई उपत्यकाबाहिर लान सकेका छैनौं ।’–उनले भने ।

उनकाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरबाट प्रतिस्पर्धी मात्र छानिएको छ । उनले आगामी दिनमा कार्यक्रमको नयाँ संस्करणमा देशभरिबाट प्रतिस्पर्धी ल्याउने पनि जानकारी दिए ।

त्यस्तै कार्यक्रममा कार्यक्रमका निर्देशक सुर्दशन नेपालीले प्रत्येक क्षेत्रमा भइरहेको सामाजिक विकृतिहरुलाई न्यूनीकरण गर्न उक्त कार्यक्रमले ठूलो भूमिका खेल्ने बताए । ‘हामीले कक्षा १०, ११ र १२ का विधार्थीलाई अगाडी बढाउनको लागि यो कार्यक्रम सञ्चालन भएको छ ।’–उनले भने । क्षेत्रीय ठाउँमा समस्या धेरै छ । यसलाई कसैले नदेखेको कारण नयाँ लिडरसिपको आवश्यता रहेको बताए ।

त्यस्तै कार्यक्रममा उक्त प्रतियोगिताका निर्णायक भरत देवकोटाले युवा वर्गमा लुकेको क्षमतालाई उजागर गर्न कार्यक्रम सञ्चालन गरिएको बताए । उक्त कार्यक्रममार्फत थुप्रै युवालाई अवसर प्राप्त हुने समेत उनले विश्वास दिलाए । उनले भने,‘कस्मिक मिडियाले धेरै दुःख कष्ट भोगेर कार्यक्रम संचालन गरेको छ । यो कार्यक्रमले विभिन्न अवसर सिर्जना गर्नेछ ।’ उक्त कार्यक्रमलाई शहरभित्र मात्र केन्द्रित नगरी यसलाई देशको हरेक कुनामा केन्द्रित गर्ने पनि उनले जनाए ।

त्यस्तै कार्यक्रममा अर्का निर्णायक गीता मैनालीले लिडरसिप बेसबाट निर्माण गर्न आवश्यक रहेकोमा जोड दिएकी छिन् । उनले समाजको आवाज युवा वर्गको माध्यमबाट ल्याउने पनि स्पष्ट पारिन् मैनालीले भनिन्,‘यसले ग्रास रुटबाट लिडर बनाउने अवसर प्राप्त भएको छ ।’

त्यस्तै कार्यक्रममा अर्का निर्णायक महेश आचार्यले कार्यक्रमको नजिकबाट आबद्ध रहेर काम गरिरहेको बताए । उनले राम्रो बाटोलाई उजागर गर्न कार्यक्रमले मूख्य भूमिका खेल्ने बताए । उनले भने,‘हामीले समाजमा सकारात्मक सन्देश दिनको लागि यो कार्यक्रम सञ्चालन गरेका हौँ । द स्पिच स्टारले प्रतिस्पर्धीलाई सामाजिक घटनासंग सम्बन्धित विषयमा केन्द्रित भएर कार्यक्रम संचालन गरिरहेको छौं ।’



प्रतिक्रिया दिनुहोस्