Logo

नेकपा निर्णय विवादमा, प्रदेश तीनको नाम र राजधानीमा सांसदहरुको असन्तुष्टी



पुष १३, काठमाण्डौ । प्रदेश सरकार गठन भएको दुई वर्ष भइसक्यो । गर्नुपर्ने काम धेरै बाँकी छ । नाम र राजधानीको विषय पेचिलो बन्दै गएको छ । प्रदेशसभाले काम गर्न नसकेको अवस्थामा सत्तारुढ दल नेकपाले प्रदेश तीनको नाम र राजधानी टुङ्गो लगाएको छ । यसले विवाद पनि सृजना गरेको छ ।

प्रदेशको नाम र राजधानीको विषय सम्बन्धित प्रदेशसभाको क्षेत्राधिकारभित्र पर्छ । तर सत्तारुढ दल नेकपाले प्रदेश तीनको नाम र राजधानीको विषयमा निर्णय गरेको छ । पार्टीको निर्णय कार्यान्वयन हुन्छ नै भन्ने छैन । यसलाई धारणाको रुपमा पनि लिन सकिन्छ । तर प्रदेश तीनमा नेकपाको बहुमत भएकाले यही निर्णय प्रदेशसभाले पनि गर्ने सम्भावना बलियो देखिन्छ ।

तर प्रदेश तीनको राजधानी अहिलेको अस्थायी राजधानी हेटौँडालाई नै स्थायी बनाउने निकपाको निर्णयले तरङ्ग सृजना गरेको छ । सबै पक्षहरुलाई ध्यानमा राख्दै साझा नामाकरण गर्न आवश्यक रहेकाले प्रदेशको नाम बाग्मती राख्ने र केन्द्र तत्कालका लागि हेटौडा नै कायम गर्ने निर्णय बैठकले गरेको नेकपा सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिएका थिए ।

यसअघि प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा नेकपामा कुरा मिलेको थिएन । नेकपा सचिवालयले प्रदेशको नाम बागमित राख्ने निर्णय पनि गरेको छ । राजधानी पनि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच कुरा मिलेको थिएन । मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुंग्याउन पार्टीले निर्देशन दिनुपर्ने बताएका थिए । सोहीअनुसार नेकपाले सहज बनाइदिएको हो । तर नेकपाको निर्णय सर्वमान्य भने पक्कै हुनेछैन ।

नेपाली कांग्रेस काठमाण्डौ जिल्लाका सभापति कृष्ण बानियाँ सबुजले हेटौडालाई स्थायी राजधानी बनाउने कुरा उचित नभएको तर्क गर्नुभएको छ । संसदीय समितिहरुले अध्ययन गरेर दिएको सुझाबविपरित नेकपाले निर्णय गरेको बानियाँको आरोप छ । जनताको हितका लागि काभ्रे, भक्तपुरमध्ये कुनै ठाउँ उतित हुने बानियाँ बताउँछन् ।

नेकपा सचिवालयको निर्णयले प्रदेश सांसदहरु रुष्ट बनेका छन् । प्रदेश तीनका सांसद छिरिङ दोर्जे लामाले प्रदेशसभाको अधिकारलाई पार्टीले हस्तक्षेप गरेको आरोप लगाएका छन् । जनताको लागि सहज हुने गरी राजधानी बनाउनुपर्नेमा उनले जोड दिए । नेकपाकै कतिपय प्रदेश सांसदहरुले पनि पार्टीको निर्णको विरोध गरेका छन् ।

सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको हो । प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत भएकाले आजको निर्णय अनुसार नै अब प्रदेश तीनको राजधानी हेटौँडा र नाम बागमति रहने लगभग निश्चित भएको छ ।



प्रतिक्रिया दिनुहोस्