Logo

ए डिभीजन लिग फुटबलमा दर्शक अभाव, किन घट्यो आकर्षण ?



पुष १३, काठमाण्डौ । नेपालमा सबैभन्दा बढि खेलिने खेल हुन सक्छ फुटबल । नेपालमा मात्रै होइन, विश्वभर नै फुटबल खेलका दर्शक सबैभन्दा बढि छन् । तर सबैभन्दा ठूलो मानिने ए डिभिजन लिग फुटबल खेल हुँदा रंगशालामा दर्शक भेट्नै मुस्किल हुन्छ । दर्शकको संख्या हेर्दा घरेलु लिगको आकर्षण घट्दै गएको देखिन्छ ।

नेपालको सर्वाधिक ठूलो र स्तरीय फुटबल लिग शहीद स्मारक ए डिभिजन लिग फुटबलमा तेस्रो चरणका खेलहरु सकिएका छन् । सोमबारबाट चौथो चरणका खेल हुनेछन् । घरेलु फुटबलका शीर्ष डिभिजनका क्लबले प्रतिस्पर्धा गर्ने लिगमा १४ ए डिभिजन क्लबले प्रतिस्पर्धा गर्दैछन् । तेस्रो चरण सकिदासम्म कुनै पनि खेलमा उल्लेख्य दर्शकको सहभागिता देख्न पाइएन । दशरथग रंगशालामा हुने ए डिभिजन खेलका लागि भिआइपी प्यारापिटतर्फ ५ सय र सामान्य प्यारापिटतर्फ २ सय रुपैयाँ टिकटको मूल्य तोकिएको छ । तर टिकट खरिद गरेर खेल हेर्न जाने दर्शकको संख्या निकै कमी छ ।

संजिब मिश्र

फुटबल खेललाई निकै नजिकबाट नियालिरहेका विज्ञ मानिने संजिब मिश्रले पनि अपेक्षा गरे जति दर्शकको उपस्थिती नभएको बताएका छन् । एन्फाअन्तगरत चल्ने लिग फुटबलका निर्देशकसमेत रहेका मिश्रले खेल समय पनि उचित नभएकाले दर्शकको उपस्थितीमा कमी आएको स्वीकार गरे । विदाको दिनमा भने दर्शकको उपस्थिती सन्तोषजक नै रहेको मिश्रको दावी छ ।

नेपालको सर्वाधिक ठूलो पुरस्कार राशी भएको खेल हो शहीद स्मारक ए डिभिजन लिग । यो लिग हरेक वर्ष हुनुपर्ने हो । तर २०७२ सालको भूकम्पले मुख्य खेलस्थल दशरथ रंगशाला क्षतिग्रस्त भएपछि अहिले ५ वर्षपछि लिग खेलाइएको हो । ए डिबिजन लिगमा हिमालयन शेर्पा, मछिन्द्र फुटबल, मनाङ मस्र्याङ्दी, सशस्त्र प्रहरी, नेपाल आर्मी, नेपाल पुलिस, न्यू रोड टिम, सङ्कटा क्लब, सरस्वती युथ क्लब, ब्रिगेड ब्वाइज क्लब, च्यासल युथ क्लब, फ्रेन्डस् क्लब, युथ क्लब र थ्री स्टार क्लब गरी जम्मा १४ वटा टिम सहभागी छन् ।

तेस्रो चराणका खेलहरु सकिदासम्म मनाङ मस्र्याङ्दीले तीनवटै खेल जितेर अंकतालिको पहिलो स्थानमा रहेको छ । हरेक राउण्डमा ७ खेल हुनेछ । शीर्ष टिमले उपाधि हात पार्नेछ । यस सिजनमा एउटा क्लब रेलिगेशनमा पर्नेछ । लिगको उपाधि विजेताले ५० लाख, उपविजेताले ३५ लाख र तेस्रोले २५ लाख, चौथोले १५ लाख, पाँचौले ७ लाख र छैटौले ५ लाख रुपैयाँ पाउनेछ । लिगको हरेक खेल जित्ने टिमले बोनस बापत ५० हजार पाउनेछ ।



प्रतिक्रिया दिनुहोस्