Logo

देशभर चिसो बढ्यो, केही दिन अझै बढ्ने



काठमाडौँ, १४ पुस । यतिबेला देशभर चिसो ह्वात्तै बढेको छ । बिहीबार र शुक्रबार वर्षा हुने सम्भावना रहेकाले चिसो थप वृद्धि हुने अनुमान गरिएको छ । बढ्दो चिसोसँगै मध्य पहाड र तराईमा हुस्सु र शीतलहर सुरु भएको छ । राजधानी काठमाडौँमा शनिबार अहिलेसम्मकै सबैभन्दा चिसो ०।६ डिग्री तापक्रम सूचीकृत रेकर्ड भएको छ ।

आइतबार विहान १ डिग्री तापक्रम सूचीकृत भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो गतवर्ष डिसेम्बर महिनाको अन्तिमतिर सूचीकृत भएको ०।५ डिग्री भन्दा बढ्दो क्रमको तापक्रम हो । हरेक वर्षको डिसेम्बरको मध्यबाट चिसो बढ्ने भए पनि यसपाली अलिक छिट्टै चिसो बढेको महाशाखाको भनाइ छ । “चिसोसँगै हिमाली भेगमा हिउँ पर्ने, पहाड र तराईमा हुस्सु र शीतलहर चल्ने क्रम जारी छ,” मौसमविद् बरुण पौडेलले भन्नुभयो, “यसले जनजीवन कष्टकर बनेको छ ।” उनले भने झैँ हिमाली भेगमा यतिबेला तापक्रम माइनसमा झरिसकेको छ । जोमसोम, मनाङ, मुस्ताङ, जुम्ला भेगमा माइनसमा पनि तल तापक्रम झर्नेक्रम जारी छ । मनाङमा माइनस १९ डिग्री तापक्रम रेकर्ड भइसकेको छ । जुम्लामा आइतबार विहान केही बढेर माइनस ५।५ डिग्री न्यूनतम तापक्रम सूचीकृत भएको छ ।

काठमाडौँपछि अर्को चिसो सहर सुर्खेत जिल्लाको वीरेन्द्रनगर बनेको छ । चर्को शीतलहरसँगै यहाँको तापक्रम आइतबार २।४ डिग्री न्यूनतम सूचीकृत भएको छ । त्यसपछि ताप्लेजुङ र दिपायल अर्को चिसो स्थानका रूपमा रहेका छ । जहाँ २।६ डिग्री न्यूनतम तापक्रम रेकर्ड भएको छ । त्यसपश्चात् डडेलधुरामा २।७ डिग्री, दाङ ३।५, पोखरा ३।७, ओखलढुंगा ५, धनकुटा ५।८, धनगढी र सिमरामा ७ डिग्री तापक्रम सूचीकृत भएको छ । त्यस्तैगरी, भैरहवा ७।५, विराटनगर ७।६ र नेपालगञ्जमा ८ डिग्री न्यूनतम तापक्रम सूचीकृत भएको छ ।

चिसो अझैं बढ्ने
काठमाडौँलगायत देशभर अझैं केही हप्ता चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको विशेष बुलेटिन अनुसार पनि चिसो बढेसँगै बाक्लो हुस्सु र कुहिरोको चाप पनि बढ्दो छ । पश्चिम तराईमा लागेको कुहिरो र हुस्सु आइतबार अपराह्नपछि केही हटेको छ । जसका कारण यस क्षेत्रका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपुरको जनजीवन प्रभावित बनेको छ ।

मध्य तराई क्षेत्रमा भने साँझसम्म नै बाक्लो हुस्सु र कुहिरो रहने अवस्था छ । जसका कारण चितवन, पर्सा, बारा, रुपन्देही, सर्लाही, धनुषा र परासी क्षेत्रमा घाम कम लाग्ने र शीतलहरले जनजीवन असर परेको छ । त्यस्तै, पूर्वी तराईको कुहिरो र हुस्सु कायम रहँदा घामको ताप कम मात्र धर्तीको सतहमा पुगेको छ । त्यस क्षेत्रका महोत्तरी, सिराहा, सप्तरी, सुनसरी, मोरङ र झापा क्षेत्रमा चिसोको प्रभाव बढेको छ । बिहीबार र शुक्रबार पश्चिमी वायु सक्रिय हुँदा पानी पर्ने सम्भावना छ । जसका कारण केही दिनमा थप चिसो बढ्ने विभागले पूर्वानुमान गरेको छ । बर्षातका कारण हिमाली भेगमा हिमपातसँगै अन्य क्षेत्रमा हुस्सु र कुहिरोको प्रकोप गाढा हुनेछ, जसले अहिले कायम रहेको चिसो थप वृद्धि हुने अनुमान मौसमविद्ले गरेका छन् ।

चिसो बढेकाले जरुरी कामबाहेक बाहिर कम ननिस्कन मौसमविद्ले सर्वसाधारणसँग आग्रह गर्नुभएको छ । बालबालिका, सुत्केरी महिला र वृद्धवृद्धालाई न्यानो बनाएर राख्न भनिएको छ । साथै, कामकाजमा हिड्नेले पनि न्यानो हुने उपाय अपनाएर हिँडडुल गर्न सुझाएका छन् । हुस्सु लाग्दा कम देखिने भएकाले सवारी चलाउँदा ध्यान दिन पनि भनिएको छ ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्