Logo

कैदीविरुद्ध कैदीले गरे तालाबन्दी



काठमाडौँ, १४ पुस । नाइके कैदीविरुद्ध दोलखा कारागारमा कैदीले नै तालाबन्दी गरेका छन् । नाइके कैदीले कुटपिट गर्ने, गुणस्तरहीन खाना खुवाउने र पैसा समेत ठग्न थालेपछि भीमेश्वर नगरपालिका ३ चरिकोटस्थित कारागारमा नाइके कैदीविरुद्ध कैदीले नै आइतबार तालाबन्दी गरिदिएका हुन् ।

चरिकोट कारागारमा रहेका १०८ कैदीबन्दीमध्ये नाइके, चौकीदार, भाइनाइके गरी ५ जना कैदीविरुद्ध १०३ जना कैदीले कारागारको मुख्य प्रवेशद्वारमा तालाबन्दी गरेका हुन् । कैदीको आन्तरिक प्रशासनमा भएको गडबढीविरुद्ध तालाबन्दी गरेको कारागार कार्यालय चरिकोटका निमित्त जेलर शेषराज गोलेले जानकारी दिए। चौकीदार र मुख्य नाइकेसहित ५ जनालाई जेलसरुवा र उनीहरुले ठगी गरेको करिब १५ लाख रुपैयाँ फिर्ताको माग राखेर काराबासको मुख्य ढोकामा तालाबन्दी गरेको कैदी अशोक केसीले बताए ।

कारागारलाई मन्दिर बनाइदिन्छु भनेर मुख्य नाइके कैलाश बस्नेतले नै गाजा र रक्सी सेवन गरेर कतिपयलाई कुटपिट गरेको र गुणस्तरहीन खाना खुवाएकाले सहन नसकेर तालाबन्दी गर्नु परेको कैदी केसीलगायतको भनाई छ। विभिन्न बाहनामा २० जना कैदीसँग करिब १५ लाख असुलेको अर्का कैदी बिमल आचार्यले बताए । कुटाइ र थिचोमिचो रहेर बस्दाबस्दा खानामा समेत घोटाला गर्न थालेपछि प्रतिवादमा उत्रिनु परेको कैदी आचार्यको भनाई छ । लाइब्रेरी बनाउन कैदीबीच संकलन गरिएको ८० हजार रकम समेत मुख्य नाइके बस्नेतले गायब बनाएको कैदीको आरोप छ । १०८ मध्ये १०३ जना कैदीले संयुक्त हस्ताक्षर गरेर कैलाश बस्नेत, ओमशरण थापा, कमल नेपाली, राजकुमार योगी र किशोर भण्डारी नामका कैदीलाई सरुवा र मुख्य नाइके बस्नेतले असुलेको करिब १५ लाख फिर्ता गर्नुपर्ने दुई बुँदे माग राखेका छन् ।

मुख्य नाइके बस्नेतले कारागारभित्र गाजा भरेको चुरोटको व्यापार गर्ने गरेको समेत ति कैदीले आरोप लगाए । मेसले अनिवार्य गरेको अचार मात्र खाएको महिनाको ३ सय रुपैयाँको दरले असुल्ने, शरीरमा तेल मालिस गरेको, मुढा बनाएको, थाँका लेखेको, सिलाइ कटाइ गरेको पारिश्रमिक समेत मुख्य नाइके बस्नेतले कसैलाई नदिने गरेको कैदीहरुको भनाई छ। दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलले मौजुदा परिस्थितिअनुसार कैदीबीच ज्यानकै जोखिम हुने देखिएकाले कैलाश बस्नेत, ओमशरण थापा, कमल नेपाली, राजकुमार योगी र किशोर भण्डारीलाई काठमाडौं आसपासका कारागारमा स्थानान्तरण गरिएको बताए।
अन्नपूर्ण पोष्ट्बाट



प्रतिक्रिया दिनुहोस्