Logo

धर्म निरपेक्षताको आलोचना



काठमाडौँ, १४ पुस । नेपाल र भारतमा धर्म निरपेक्षता र राजनीति विषयमा कीर्तिपुरमा भएको अन्तर्राष्ट्रिय सेमिनारमा धर्म निरपेक्षताको आलोचना भएको छ । नेपाल र एसियाली अनुसन्धान केन्द्र सिनासको आयोजनामा भएको कार्यक्रममा भारत हरियाणाको भगत पुल सिंह महिला विश्वविद्यालयकी उपकुलप्रति सुष्मा यादवले नेपाल–भारतका सन्दर्भमा धर्म निरपेक्षता उचित नभएको भनाइ राखिन् ।

‘भारत र नेपालमा निरपेक्षता र हिन्दु परम्परा’ बारे प्रस्तुति दिएकी उनले आइतबार भनिन्, ‘किन धर्म निरपेक्षताले हाम्रो जीवनलाई सहज बनाउन भूमिका लेखेन । किन हामीले अरू फाइदा लिन सकेनौं ’ आफ्नो सभ्यतालाई हुबहु राख्नुपर्ने उनले बताइन् । भारत सरकारले केही समयअघि पास गरेको नागरिकता संशोधन विधेयकलाई बहादुरीपूर्ण निर्णय भएको उनको भनाइ थियो । मुस्लिम धर्म मान्ने नागरिकलाई त्यसबाट कुनै समस्या नभएको उल्लेख गर्दै उनले सरकारको उक्त निर्णय ठीक भएको दाबी गरिन् । जवाहरलाल नेहरू विश्वविद्यालयले एउटा एजेन्डाअनुसार पढाउने पनि उनले बताइन् । उनको प्रस्तुतिपछि बोल्ने वक्ताहरूले धर्म निरपेक्षता युरोपमा प्रोटेस्टेन्ट क्रिश्चियनहरूले क्याथोलिकविरुद्ध लड्न अघि सारेको एजेन्डा भएको बताए । यादवले पनि यो युरोपको एजेन्डा भएको भन्दै भारत र नेपालको परिप्रेक्ष्यमा ठीक नभएको बताइन् ।

सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले नेपालको सभ्यता ः आधुनिकीकरण, राजनीति र संविधान’ बारेको प्रस्तुतिमा धर्म निरपेक्षता एउटा शैक्षिक विषयमात्र नभई यसलाई व्यवहारमा कसरी लागू गर्ने भन्ने रहेको बताए । नेपालमा सन् १९७९ सम्म राजनीतिक एजेन्डाका बारेमा मात्र बहस हुनेमा सन् १९९० देखि २००५ सम्म राजनीति मात्र नभई मधेसी, महिला र दलितका एजेन्डामाथि पनि बहस हुन थालेको भनाइ उनले राखे । ‘प्रजातन्त्र आएर विभिन्न दलले शासन गरे पनि ती समस्याहरू उस्तै छ,’ उनले भने ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्