Logo

डढुवाले आलु सखाप



काठमाडौँ, १४ पुस । कैलालीमा किसानको आलु खेती सखाप हुन थालेको छ । डढुवा रोगका कारण यस वर्ष आलु खेती सखाप हुन थालेको हो । शीतलहर चलेपछि आलुमा डढुवा रोगको प्रकोप बढेको किसानले बताएका छन् । डढुवाका कारण फूल फुल्न नपाउँदै आलु सखाप हुन थालेको उनीहरूको भनाइ छ ।

दुईपटक विषादी हाल्दा पनि यस वर्ष आलु खेती जोगाउन सकेन, व्यावसायिक रूपमा तरकारी खेती गर्दै आउनुभएका धनगढीका रतिराम चौधरीले भने, घाम नलाग्दा आलु पूर्ण रूपमा नष्ट भएको छ । डढुवाले लहलहाउँदो आलुको डाँठ सुकेर मरेको किसानले जनाएका छन् । डढुवाले आलु सखाप हुन थालेपछि कतिपय किसानले समय नपुग्दै आलु खनिसकेका छन् । अलि–अलि फलेको आलु पनि कुहिन थालेपछि खनेर निकालेको धनगढीकी अनिता विकले बताए ।

लगाएको डेढ महिना पनि नपुग्दै डढुवाले मर्न थालेपछि आलु खनिसक्यौँ, उनले भने केही दिन अगाडि भएको हिउँदे वर्षाले आलुसहित तोरी खेतीमा व्यापक नोक्सान गरेको किसानको भनाइ छ । उत्पादन भइसकेको आलु ओसिलो जमिनका कारण माटोभित्रै कुहिन थालेको उनीहरूले बताएका छन् ।
गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्