Logo

महाकालीमा मौका छोप्दै भारत



काठमाडौँ, १४ पुस । चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ । पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा अतिक्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै एक पक्षीय रूपमा संरचना बनाएको हो ।

सीमा नदी महाकाली किनारमा चट्टानी पहाड फोडेर बाटो बनाउन डोजर चलाउँदै भारतीय पक्ष । यसो गर्दा ढुंगाले पुरिएर नदी प्रभावित त भएको छ नै, वारि नेपालतर्फका घोडेटो बाटोहरूसमेत नदीको कटानले भत्कन थालेका छन् । व्यास गाउँपालिका–१ पेल्सिती नजिकै महाकालीमा भारतले अनुमतिबेगर काठेपुल बनाएको छ । महाकाली नदी नै प्रभावित हुने गरी भीर कटान गरेर सडक बनाउने कामलाई पनि तीव्र पारेको छ । ०७४ सालमा पनि भारतीय पक्षले महाकाली नदीमा नेपालको अनुमति नलिईकनै विभिन्न ठाउँमा काठेपुल बनाउनुका साथै नेपाली भूमिमा एक्स्काभेटर चलाएको थियो ।

चिसोका कारण यतिबेला व्यास गाउँपालिका–२ दुम्लिङभन्दा माथिको क्षेत्रमा बसोबास छैन । व्यासको छाङरुसम्मै आवतजावत गर्दै आएका नेपाली हिमपातपछि तल्लो भेगमा झरिसकेका छन् । जाडो बढेकाले त्यस क्षेत्रमा बसोबास गर्ने सबै तल भेगमा झरेको दुम्लिङका स्थानीय जीवनसिंह बुढाथोकीले बताए । दुई वर्षअघि पनि यस्तै मौकामा भारतले नेपालको उक्त क्षेत्रमा काठेपुल निर्माण गरेको थियो । अहिले पनि स्थानीय तल झरेको र हिमपात भएको मौका छोपेर उनीहरूले काठेपुल बनाएका हुन् । अहिले त्यहाँ नेपालको सुरक्षा उपस्थिति पनि छैन । व्यासमा सुरक्षा दिइरहेको नेपाल प्रहरी चिसो सहन नसकेर दुम्लिङ झरेको एक महिना पनि पुगेको छैन । प्रहरी मंसिर तेस्रो साता दुम्लिङसम्म गएको थियो । त्यसपछि माथिल्लो क्षेत्रमा बाटो नहुँदा जान नसकिएको अस्थायी प्रहरी चौकी दुम्लिङका इन्चार्ज अमरसिंह कार्कीले बताए ।

चाररपाँच दिनअघि व्यास क्षेत्र जाने बाटो निर्माणको सर्भे गर्न गएको टोलीका प्रतिनिधिहरू भारतीय पक्षले निर्माण गरेको पुल भएरै नेपाल–भारत आवतजावत गरेका हुन् । टोलीमा रहेका एक प्रतिनिधिले भने, ‘पेल्सितीभन्दा करिब ५ सय मिटर तल नेपाल–भारततर्फ आवतजावत गर्न भारतीय पक्षबाट काठेपुल निर्माण गरिएको छ । नदीको वारिपारि ठूल्ठूला ढुंगाहरूले पानी नै देखिँदैन । भारतीय सडककै कारण महाकालीको सतह खुम्चिँदै गएको छ, नेपालतर्फ कटान भएको छ ।’ धेरै ठाउँमा नदीले कटान गरेपछि व्यास जोड्ने घोडेटो बाटो भत्किएको उनले बताए । त्यस ठाउँमा पुल बनाइएको बारे नेपाली पक्षलाई कुनै जानकारी छैन ।

भारतले सन् २०२० भित्र लिपुपास लिपुलेकबाट तिब्बत सम्म पुर्‍याउन आफ्नो सीमातर्फ ठाउँठाउँमा सडक निर्माण गरिरहेको छ । भीर भएको क्षेत्रमा दुवैतिर कटान गरेर सडक निर्माण तीव्र गतिमा बढाइरहेको व्यासका स्थानीय बताउँछन् । ठूला चट्टान कटान गर्दा ढुंगा खसेर महाकाली नदी प्रभावित भएको छ । नेपालतर्फको भागमा नदीको कटान बढेको छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्