Logo

विवाद मिलाउन कस्सिए देउवा



काठमाडौँ, १४ पुस । कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र चर्किंदै गएको विवाद मत्थर बनाउन आफूनिकट नेताहरूसँग छलफलमा जुटेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहुमतका आधारमा गरिएका निर्णय सच्याउन दबाब दिइरहेका बेला देउवाले आफूनिकट नेताहरूसँग परामर्श थालेका हुन् ।

देउवासहित आइतबार संस्थापन पक्षका नेताहरूसँग करिब चार घण्टा छलफल गरे । छलफलमा नेताहरूले पार्टीको विभाग, नेविसंघ र तरुण दलको कार्यसमिति गठन तथा विस्तार गर्दा पौडेल र सिटौला पक्षलाई समेटेर लैजाने सहमति गरेका छन् । राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी छलफलका लागि पुस १७ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र त्यसअघि वरिष्ठ नेता पौडेलसहितको उपस्थितिमा पदाधिकारी बैठक बोलाउने पनि तय भएको छ ।

विभाग, नेविसंघ र तरुण दलको गठन तथा विस्तारमा सहमतिका लागि संवाद गर्न उपसभापति विमलेन्द्र निधिलाई जिम्मेवारी दिइएको छ । यसअघि ‘प्याकेज’ सहमति जुटाउनका लागि भएका छलफलमा पनि निधि संलग्न थिए । निधिको पहल टुंगोमा नपुग्दै देउवाले बहुमतको निर्णयबाट महाधिवेशनको कार्यतालिका तोक्ने, केन्द्रीय कार्यसमितिको कार्यकाल एक वर्ष बढाउने, विभागको संख्या थप्ने र तरुण दलको म्याद बढाउनेलगायत निर्णय गरेका थिए ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot