Logo

कांग्रेससँग नजिकिदै समाजवादी



काठमाडौं, १४ पुस । सरकारबाट बाहिरिएपछि समाजवादी पार्टी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग नजिकिएको छ। कांग्रेसँसग मोर्चाबन्दी र सहकार्य गर्न उसले प्रस्तावसमेत गरेको छ। राष्ट्रियसभा तथा सभामुख र उपसभामुखको निर्वाचनमा कांग्रेससँग सहकार्य गर्न समाजवादीका नेताहरूले प्रस्ताव राखेका हुन्। सरकारको कार्यशैलीविरूद्ध सहकार्य गर्न प्रस्तावसहित नेताहरूले कांग्रेसका नेताहरूसँग संवाद र छलफल सुरु गरेका छन्।

कांग्रेसका सभापति शेरबहादुर देउवलाई भेट्न समाजवादी पार्टी राष्ट्रिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई, कार्यकारिणी अध्यक्ष उपेन्द्र यदव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ बिहीबार साँझ देउवा निवास बूढानीलकण्ठ पुगेको थिए। छलफलमा कांग्रेस उपसभाति विमलेन्द्र निधि पनि थिए। समाजवादी पार्टीका कार्यकारिणी अध्यक्ष यादवले कांग्रेस सभापति देउवासँग भेट भएको स्वीकार गरे। तर भेटबारेमा थप बोल्न चाहनेनन्। भेटको विषयवस्तबारे पनि उनले केही बोलेनन्। तर समाजवादी पार्टीका महासचिव रामसाहाय यादवले समाजवादी पार्टीले उठाएको माग र अजेन्डा कार्यान्वयन गर्न जो सुकै पार्टीसँग पनि कुराकानी गर्ने बताए। राष्ट्रियसभाको निर्वाचनमा कांग्रेस र समाजवादी पार्टीबीच सहकार्य गर्ने सहमति भने भैनसकेको उनले बताए। उनले भने, ‘कांग्रेस र समाजवादी पार्टीले राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गरे पनि हामी बहुमतमा पुग्ने स्थिति देखिन्न।’

समाजवादी पार्टी सरकारबाट बहिर्गमन मात्र भएको छैन, सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। समाजवादीबाट सरकारमा प्रीतनिधित्व गरेका उपेन्द्र यादव र इस्तिायक राईले मन्त्रीपदबाट राजीनामा दिएको भोलिपल्टै समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनीहरूले कांग्रेससँग भेट गरेका हुन्। समाजवादी पार्टीले उठाएको संविधान संशोधनको मुद्दामा सरकार तयार नभएको भन्दै ऊ सरकारबाट बाहिरिएको थियो।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्