Logo

लथालिंग अस्पताल



काठमाडौँ, १४ पुस । जाडो मौसम छ । यो मौसमलाई ज्वरो, रुघाखोकी, दम, निमोनियालगायत मौसमी भाइरस आक्रमणका बिरामी बढ्ने समय मानिन्छ । यस्तैखाले बिरामीको उपचार हुने टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भने यतिखेर सुनसान छ । मौसमी भाइरस तथा सरुवारोगको उपचार गर्ने सरकारी एक मात्र केन्द्रीय अस्पताल हो यो ।

शुक्रबार बिहान ९ बजे अस्पताल पुग्दा टिकट काउन्टर अगाडि फाटफुट बिरामी लाइनमा बसेका थिए । १० बजेपछि ओपीडीमा पनि बिरामीको संख्या न्यून थियो । आकस्मिक कक्षमा भएका १० मध्ये २ बेडमा मात्रै बिरामी थिए । एक सय बेडमध्ये ३४ बेडमा मात्रै बिरामी भर्ना भएका थिए । चिकन गुनिया, इबोला, कालाजारलगायत सरुवा रोग उपचार गर्ने केन्द्रीय अस्पताल कुकुरले टोकेका, झाडापखाला र एचआईभीका बिरामीको उपचारमा सीमित छ । विशेषज्ञ र प्रविधि हुँदाहुँदै पनि अपेक्षित बिरामी यो अस्पताल आउनुको साटो निजी अस्पताल धाइरहेको हुन सक्ने अस्पतालका चिकित्सककोअड्कल छ । यो अस्पतालको सेवाबारे प्रचार नपुग्दा बिरामीको चाप न्यून भएको उनीहरू बताउँछन् ।

अस्पताल अस्तव्यस्त
प्रयोगशाला भवनको जमिनमुनि गाडी पार्किङ गर्ने ठूलो ठाउँ बनाइएको छ तर त्यहाँ गाडीका लस्कर होइन थोत्रा सामान थुपारिएका छन् । बिग्रेका बेड, काम नलाग्ने हिटर, सोफा, कुर्सी र फलामका डन्डीले त्यो ठाउँ ओगटेको छ । झरी पर्दा अस्पतालको जमिनमुनिको कोठामा पानी भरिन्छ । संक्रमणजन्य लामखुट्टेको स्रोत नै त्यही पानी जमेको कोठा बनिदिन्छ । लामखुट्टेजन्य संक्रमणको उपचार गर्न आएका बिरामी र कुरुवा उल्टै रोगको जोखिममा पर्ने गरेका छन् । त्यहाँ नअटेका यस्ता सामान अस्पतालको कुनामा पनि उस्तै गरी थुपारिएका छन् । ती सामान थन्क्याउन या बेच्न अस्पतालले कुनै पहल गरेको छैन ।

सरकारी सामान बेच्न लामो कानुनी प्रक्रिया हुने भएकाले ती सामान असरल्ल छोड्न बाध्य भएको अस्पतालका निर्देशक डा। बासुदेव पाण्डेले बताए । ‘हरेक सामानछुट्याएर लिलामी गर्नुपर्ने हुन्छ । सामानछुट्याएर बस्ने जनशक्ति नभएपछि ती सामान यतिकै छोडिएको हो,’ उनले भने । अस्पताल परिसरमा खिया लागेको, झ्यालढोका फुटेको थोत्रो एम्बुलेन्स छ । यसलाई अस्पतालले न हटाउन सक्छ न मर्मत गरेर प्रयोगमा ल्याउन सकेको छ । निर्देशक डा। पाण्डेका अनुसार यो एम्बुलेन्स पूर्वरानी ऐश्वर्याराज्यलक्ष्मी शाहको नाममा भएकाले यसलाई थन्काउन मुस्किल परिरहेको छ ।

जग्गा नहुँदा बनेन भवन
आठ दशक पुरानो यो अस्पतालको भौतिक संरचना पनि उत्तिकै कमजोर भइसकेको छ । वर्षायाम लागेपछि माथिल्लो तलामा पानी चुहिन्छ । भित्ताभरि पानी रसाएका दागहरू अझै छन् । रंगरोगन गरेर ती दाग छोपे पनि पानी पर्नेबित्तिकै ती भित्तामा पानी बगेका दाग बस्छन् । ५ वर्षअघिको भूकम्पले चिकित्सक र कर्मचारी बस्ने क्वाटर भवन क्षतिग्रस्त भयो । चर्किएको भवनमै कर्मचारी बस्छन् । जग्गा अभावका कारण अस्पतालको नयाँ भवन निर्माण गर्न नसकिएको डा। पाण्डेले बताए । चोभारस्थित सिमेन्ट कारखाना वा ललितपुरको कमलपोखरीको सरकारी जग्गा दिने कुरो चर्चामै सीमित छ । प्रस्तावित फाइल मन्त्रालयमै थन्किएको छ ।

माथिल्लो तलासम्म बिरामी पुर्‍याउन अस्पतालमा लिफ्ट छैन । बिरामीलाई बोकेरै माथिल्लो तला चढाउनुपर्छ । डा। पाण्डेले भने, ‘पुरानो भवनमा लिफ्ट राख्दा भवन अझै कमजोर हुन्छ । एसी जडान गर्न पनि भित्ता ठोकठाक गर्दा भवन अझै कमजोर होला भन्ने डर छ ।’ बजेट भए पनि अस्पताललाई भत्काएर पुनर्निर्माण गर्न नसकिएको उनले गुनासो गरे । केन्द्रीय स्तरको अस्पतालसँग एउटा एम्बुलेन्स छ । त्यो पनि अस्पतालबाट बिरामी रिफर गरेर अन्यत्र पुर्‍याउनका लागि मात्रै प्रयोग हुन्छ । भएको एउटा एम्बुलेन्स पनि सुरक्षित नभएको डा। पाण्डे बताउँछन् । ‘यस्तो एम्बुलेन्समा सरुवारोगका बिरामी ल्याउँदा सजिलै अर्को व्यक्तिमा रोग सर्न सक्छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्