Logo

गुम्बा–दरबार पुनर्निर्माणमा ढिलाइ



काठमाडौँ, १४ पुस । भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि जिल्लामा रहेका पुरातात्त्विक सम्पदाको पुनर्निर्माण थालिएको छैन । भूकम्पले भत्काएको पुरातात्त्विक सम्पदा दरबार तथा गुम्बाको नयाँ पुनर्निर्माण भएको छैन । जिल्लामा रहेका एउटा पनि नयाँ गुम्बा बनेका छैनन् । जिल्लामा १ सय १६ वटा गुम्बा छन् ।

भूकम्प गएको साढे चार वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन नसकेको नुवाकोटको पुरातात्त्विक सम्पदा साततले दरबार । ०७२ वैशाख १२ को भूकम्पले ८९ वटा गुम्बामा क्षति पुर्‍याएको थियो । ७९ गुम्बा पूरै भत्किएर पुनर्निर्माण गर्नुपर्ने अवस्थाका छन् । १० वटा गुम्बा मर्मतसम्भार गरेर पुग्ने अवस्थाका छन् । मर्मतसम्भारका लागि १ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । अहिले विदुर नगरपालिका १ का २ र वडा ८ मा १ गरी ३ वटा गुम्बा मर्मत हुँदै छ । गुम्बाहरू छिटो मर्मत तथापुनर्निर्माण गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख सन्तमानतामाङले बताए ।

डेढ महिनाभित्रमा चीनले पुरातात्त्विक सम्पदा साततले दरबार, तलेजु भवानी दरबारलगायत सम्पदा रेक्ट्रोफिटिङ गर्ने भनेर जस्तापाताले छोपेर राखिएको छ । ६ महिना बितिसक्न लाग्दा पनि अझै ती पुरातात्त्विक सम्पदा पुनर्निर्माणको पर्खाइमै छन् । चिनियाँ प्राविधिक टोलीले वैशाख पहिलो सातादेखि जेठसम्म पुनर्निर्माण गर्न भनेर सर्भे गर्‍यो । ‘सम्पदा वर्षाले ती सम्पदा ढल्न नदिन जस्तापाताले छाइयो,’ स्थानीय ईश्वर खड्काले भने, ‘खै अझै बनाउने सुरसार छैन ।’ यहाँ आधा दर्जनभन्दा बढी सम्पदा पुनर्निर्माण गर्नुपर्नेछ । चिनियाँ पक्षले नुवाकोट दरबारसहित सबै पुरातात्त्विक सम्पदाहरूको रेक्ट्रोफिटिङ गरी पुनर्निर्माण गर्ने भनेको थियो । ‘अब नयाँ वर्ष सकेपछि बनाउन आउँछन् कि,’ स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयालले भने ।

चीन सरकारले पुनर्निर्माण गर्ने सम्पदाहरूमा साततले दरबार, लामपाटी, सेतो पाटी, विष्णु मन्दिर, नारायण मन्दिर, गारद घर, रंगमहल, तुलजा भवानी मन्दिर छन् । विष्णु र नारायण मन्दिरलाई एउटै प्याकेजमा राखेर काम गरिनेछ । नजिकै रहेको पुरातात्त्विक महत्त्व बोकेको जिल्लाको ठूलो शक्तिपीठ नुवाकोट भैरवी मन्दिर भने पुनर्निर्माण भइरहेको छ । राजा पृथ्वीनारायण शाहले १८१७ देखि १९ मा ललितपुरबाट कालिगढ झिकाएर दरबार बनाएका थिए । सुरुमा नौतले भए पनि ०९० सालको भूकम्पले ७ तलामा बाँकी रहेको स्थानीय बूढापाकाको भनाइ छ । लिच्छविकालीन तलेजु दरबार भएको दाबी गर्छन् जुन पूर्वी मोहडाको पूरै भाग दुई वर्षअघिको वर्षात्मा झरेको थियो ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot