Logo

स्याउले धनी बन्दै कर्णाली



काठमाडौँ, १४ पुस । जुम्ला सिँजाका रामसिंह रावलले आफ्नो बगैंचामा उत्पादित स्याउ आफैं काठमाडौं पु¥याए। जुम्लाको अर्गानिक स्याउले निकै ठूलो महत्व पायो। फलस्वरूप माग अत्याधिक बढ्यो। उनले घरघरमै जुम्ली स्याउ पु¥याए। ग्राहकको घरसम्म पुग्दा प्रतिकेजी ५० रूपैयाँ भाउ पाए। उनले भने, ‘जुम्ली स्याउ नामले मात्र आकर्षक छैन, स्वाद पनि उत्तिकै राम्रो छ। माग पनि बढ्दो छ।’ जुम्लाबाट लगेको सात टन स्याउ उनले राम्रो मूल्यमा बेचे।

जुम्ली स्याउको माग अनुसार पु¥याउन नसकिएको किसानको गुनासो छ। कर्णालीमा स्याउ उत्पादन पनि निकै लोभलाग्दो छ। किसानको स्याउप्रतिको माया पनि उस्तै। ‘स्याउ उत्पादन वर्षैपिच्छे बढ्दो छ,’ उनले भने, ‘कर्णालीको आर्थिक मेरुदण्ड नै स्याउ हो। स्याउमा लगानी गर्नु आर्थिक रूपमा कर्णालीलाई आत्मनिर्भर बनाउनु हो।’ कर्णालीको जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोट जिल्लामा स्याउ फल्छ। जुम्ला स्याउको स्रोत केन्द्रका रूपमा स्थापित भइसकेको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा कर्णालीको प्रमुख आम्दानीको स्रोत स्याउ भएको बताउँछन्। उनले भने, ‘यहाँ स्याउको सम्भावना अत्यधिक छ। कर्णालीमा अर्गानिक स्याउ उत्पादन भएकोले माग पनि बढ्दो छ। कृषि मन्त्रालयले पनि कृषिमा स्याउ प्रवद्र्धनात्मक कार्यमा प्राथमिकता दिएको छ।’

गरिबी, अशिक्षा र पछौटेन पर्याय बनेको कर्णाली अहिले स्याउनले धनी बनेको छ। कर्णालीमा स्याउबाटै झण्डै एक अर्ब भित्रिने गरेको सरोकारवाला बताउँछन्। पछिल्लो समयमा बगैंचा काँटछाँट, व्यवस्थापन, मलखाद र सिँचाइ व्यवस्थापनमा किसानले प्राथमिकता दिएका छन्। जुम्लामा यो वर्ष ११ हजार मेट्रिक टन स्याउ उत्पादन भयो। त्यसमध्ये साढे ६ हजार टन जिल्लाबाहिर निर्यात भयो। स्याउ बेचेर जुम्लामा ३० करोड रूपैयाँ भित्रियो। स्याउ खेतीले हरेक वर्ष जुम्लाको आम्दानी बढिरहेको छ। यहाँको १४ हजार बगैंचामध्ये साढे ६ हजार बगैंचाको स्याउ फल्छ। ३४ सय ५० हेक्टरमा लगाएकोमा ११ सय हेक्टरबाट फल मिल्छ। तत्कालीन कर्णालीका सबै जिल्लामा स्याउ उत्पादन भए पनि जुम्लामा सबैभन्दा धेरै छ। जुम्लाको स्याउ सिजनमा सुर्खेत, नेपालगन्ज, काठमाडौं, बुटवल, पोखरा लगायत ठूला सहर पुग्छ। ‘जुम्लाको आम्दानीको स्रोत स्याउ हो,’ कृषि कार्यालय जुम्लाका प्रमुख देवकोटा भन्छन्, ‘यहाँको समृद्धिको आधार स्याउ हो। स्याउमा लगानी अहिलको अपरिहार्यता नै हो।’

प्रत्येक वर्ष ५० देखि एक सय हेक्टरसम्म स्याउ क्षेत्रफल थपिँदै गइरहेको छ। अर्गानिक स्याउ भएकोले बिरुवा उत्पादनमा रोगकिराको संक्रमण बढ्नु, रासायनिक विषादी प्रयोग गर्न नमिल्नु, हिउँदमा बगैंचा व्यवस्थापनको सिजनमा सबै तलतिर झर्नुले स्याउ उत्पादनमा केही चुनौती थपिएको छ। तर मौसम अनुकूल भएसम्म स्याउले राम्रै फल दिँदै आएको छ। कच्ची सडकका कारण समयमै बजार पु¥याउन नसक्नु, लामो समय स्याउ राख्न शीत भण्डार नहुनुले पनि समस्या भइरहेको किसान बताउँछन्। कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाबाहिर निर्यात हुने कुल स्याउको १० प्रतिशत बाटोको कारण नष्ट हुने गरेको छ। कर्णालीमा स्याउको अनुसन्धान भइरहेको छ। स्याउ प्रशोधन उद्योग स्थापना भएर विभिन्न परिकार बनिरहेका छन्।

नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्