Logo

सुक्खा बस्तीको उपनाम पाएको पिपलटार हरियाली



बाजुरा, १४ पुस : सिँचाइ र खानेपानीको अभावका कारण कुनै समय सुक्खा बस्तीको उपनाम पाएको विदुर नगरपालिका–५ पिपलटारमा डिप बोरिङ (जमीनमुनिको पानी तान्ने प्रविधि) मार्फत अहिले हरियाली छाउन थालेको छ । खानेपानीको हाहाकार हुने गरेको पिपलटारमा रहेका १०० भन्दा बढी घरधुरीलाई तीन वर्ष अघिदेखि सञ्चालनमा आएको अनन्तकालीन पिपलटार सिँचाइ उपभोक्ता समितिमार्फत उपलब्ध गराइएको पानीले स्थानीयवासीको दैनिकीमा परिवर्तन ल्याइएको हो ।

जमीनमुनिको पानी तानेर गरिएको वितरणले पिउनेदेखि घरपरिसरमा करेसाबारी बनाएर तरकारी खेती गरेर दैनिक जीवन परिवर्तन गर्दै आएको समितिका अध्यक्ष सुजन गजुरेलले बताए ।उनका अनुसार तीनवर्ष अघि रु २० लाख लगानीमा सञ्चालनमा ल्याइएको डिप बोरिङलाई थप मजबुत बनाउँदै हाल ५० हजार लि क्षमताको ट्याङ्की निर्माण गरिएको छ । निर्माणको समयदेखि डिप बोरिङ, पाइपलाइन विस्तार, ट्याङ्की निर्माणमा भएको रु ५० लाख लगानीले हाल ९२ घरधुरीलाई सहजरूपमा उपलब्ध गराई पानीको अभाव अहिले पूर्णरूपमा हटेको छ ।

“खानेपानी समस्या समाधान गरेर त्यही पानी बचत गर्दै करेसाबारी बनाई तरकारी खेती शुरु गरेर स्थानीयवासीले आफूलाई चाहिने तरकारी आफैँ उत्पादन गर्दै आएका छन्”, समितिका अध्यक्ष गजुरेलले भने, “सुक्खा बस्तीमा जमीनमुनिको पानी तान्ने कार्य जिल्लाकै पहिलो हुँदा चुनौती थियो, योजना सफल भएसँगै बस्तीको मुहार नै परिवतर्न भएको छ ।”

जिल्लाकै मुख्य बजारका रूपमा विकसित हुँदै आएको पिपलटारमा मुहानको उचित स्रोत नहुँदा अभाव रहेको खानेपानी व्यवस्थापनका लागि अहिले नमूनाको रूपमा अघि बढाइएको योजना सफल भएसँगै हाल यस क्षेत्रमा अन्य पाँच योजना पनि सञ्चालनमा आएका छन् । अहिले ५० हजार लिटर क्षमताको पानी ट्याङ्की (ओभरहेड) बनाएर घरघरमा पु¥याएको पाइपलाइनले दैनिक एकघण्टा पानी उपलब्ध गराउँदै आएको सिँचाइ उपभोक्ता समितिले आगामी दिनमा उपभोक्ताको मागअनुसार पानी उपलब्ध गराएर कृषि क्षेत्रको विकास गर्ने लक्ष्य लिएको अध्यक्ष गजुरेलको योजना छ ।



प्रतिक्रिया दिनुहोस्