Logo

सुरु भयो हात्ती पोलो



काठमाडौँ, १५ पुस । हात्ती पोलो चितवनको पुरानो खेल हो । टाइगर टप्स जंगल लजका सञ्चालक जिम एडवर्डले सन् १९८२ देखि यो खेल मेघौलीमा सञ्चालन गर्न थाले । तर जनावरलाई दुःख दिनु ठिक नभएको भन्दै टाइगर टप्स अन्तर्गतको संस्थाहरुले तीन वर्षअघि पोलो मात्रै हैन हात्ती सफारी नै बन्द गरे । तर लगत्तै यो खेल क्षेत्रीय होटल संघ सौराहाले अयोजना गर्ने हात्ती महोत्सवमा भित्रियो ।

हात्ती पोलो खैरहनी र कालिका नगरपालिकाको लागि हात्ती पोलोमा भिडन्त चल्दै । सौराहामा यो पटक १६ औं हात्ती महोत्सवचलिरहेको छ । १३ औं हात्ती महोत्सवदेखि हात्ती पोलो खेल पनि सुरु भयो । यो पटक पोलोमा चार टिम सहभागी छन् । सोमबार भएको पहिलो खेलमा खैरहनी नगरपालिकाले कालिका नगरपालिकालाई पराजित गरेको छ । खैरहनीले पाँच गोल गर्‍यो । कालिकाले गोल गर्न सकेन । हात्तीमाथि बसेर पोलो स्टीकको सहयोगले क्रिकेट बल आकारको बललाई पोस्टतर्फ हुत्याउँदै यो खेल खेलिन्छ । हात्ती महोत्सवमा पोलो खेल नराख्न अन्तर्राष्ट्रिय स्तरको पशुकल्याणकारी संस्था पेटाले अपिल गर्दै आएको छ । पेटाकै अपिलका आधारमा पोलोका लागि प्रायोजकसमेत जुटेन । तर अयोजकहरुले स्थानीय तहलाई सामेल गरेर पोलो खेल खेलाएका छन् । हात्ती पोलोमा मंगलबार राप्ती नगरपालिका र रत्ननगर नगरपालिका भिड्ने छन् । पोलोको फाइनल खेल शुक्रबार हुने छ । हात्ती महोत्सव पनि सोही दिन सकिने छ ।

त्यसैगरी सोमबार नै छावाहरुको फुटबल खेल पनि भएको छ । नाटा र भियना वर्ड मुम्बइबीच भएको छावा फुटबलमा नाटा विजयी भयो । निर्धारित सात मिनेट र थपिएको पाँच मिनेटभित्र पनि दुवै टिमले गोल गर्न सकेनन् । त्यसपछि भएको पेनाल्टी प्रहारमा अरु छावाले प्रहार गरेको बल गोलमा परिणत भएन । तर नाटाको सौराहा गजको बल पोस्टमा छिर्‍यो । उपाधिका लागि नाटाले शुक्रबार चितवन उद्योग संघसँग भिड्ने छ ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्