Logo

सन् २०१९ मा विश्व, चर्चामा ट्रम्पदेखि मोदी



काठमाडौँ, १५ पुस । विश्वमा यस वर्ष भएका विभिन्न घटनाप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भयो । तीमध्ये केही घटना लामो समयसम्म सञ्चारमाध्यममा छाइरहे । राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण यस वर्ष अमेरिका नै चर्चाको केन्द्रमा रह्यो । २०१९ सुरु भएसँगै उत्तर कोरियाली नेतासँगको शान्तिवार्ता गरेका ट्रम्पप्रति वर्षको अन्त्यमा लगाइएको महाअभियोग धेरैको चासोको विषय बन्यो । त्यसका साथै अन्य केही विषय अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चामा रहे ।

ट्रम्पविरुद्ध महाअभियोग
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसँगै डोनाल्ड ट्रम्प सधैं जसो विभिन्न निर्णय तथा अभिव्यक्तिका कारण चर्चाको केन्द्रमा नै रहे । सुरुका वर्षमा राष्ट्रपतीय चुनावमा रूससँग साँठगाँठका कारण चर्चामा रहेका ट्रम्प पछिल्लो वर्ष मेक्सिको सीमामा पर्खाल निर्माण गर्ने अडानका कारण समाचारमा छाए ।

सन् २०१९ को अन्त्यतिर भने राष्ट्रपति ट्रम्प आन्तरिक राजनीतिका कारण चर्चामा आए । अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रेप्रिजेन्टेटिभ्स’ ले ‘शक्तिको दुरुपयोग गरेको’ र ‘कंग्रेसलाई अवरुद्ध पारेको’ भन्दै डिसेम्बर १८ मा राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाइसकेको छ । विपक्षी दल डेमोक्र्याटको बहुमत रहेको तल्लो सदनमा भएको मतदानमा ट्रम्पलाई महाभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ सांसद उभिएका थिए ।

ट्रम्प संसद्ले महाअभियोग लगाएका तेस्रो अमेरिकी राष्ट्रपतिसमेत भएका छन् । तल्लो सदनले महाअभियोग लगाइसकेको भए पनि ट्रम्प पदमुक्त हुन माथिल्लो सदन सिनेटले उक्त प्रस्ताव पारित गर्नुपर्नेछ । सिनेटमा सत्तारुढ दल रिपब्लिकनको बहुमत रहेका कारण उनी पदमुक्त हुने सम्भावना भने देखिँदैन ।

मुसर्रफलाई मृत्युदण्ड
पाकिस्तानको एक अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनायो । इस्लामाबादस्थित विशेष अदालतको तीन सदस्यीय इजलासले मुसर्रफलाई ‘संविधानको अवहेलना तथा गम्भीर देशद्रोह’ को मुद्दामा पाकिस्तानी संविधानको धारा ६ अनुसार दोषी ठहर गरिएको जनाइएको छ ।

सन् २००७ को नोभेम्बरमा संकटकाल घोषणासँगै संविधान निलम्बन गरेपछि मुसर्रफविरुद्ध देशद्रोहको मुद्दा लगाइएको थियो । यद्यपि, उनलाई अदालतले मृत्युदण्डको सजाय सुनाउला भन्नेचाहिँ निकै कमले अपेक्षा गरेका थिए । जसका कारण पाकिस्तानी जनतासँगै विश्व समुदाय एकपटक आश्चर्यमा पर्‍यो । हाल संयुक्त अरब इमरेट्सको दुबईमा उपचार गराइरहेका मुसर्रफलाई मृत्युदण्ड दिइनुअघि नै उनको मृत्यु भएमा उनको शव तीन दिनसम्म सार्वजनिक स्थानमा झुन्ड्याउन अदालतले आदेश दिएपछि यो विषय थप चर्चामा छ । पाकिस्तानी सेना भने अदालतको फैसलाको विपक्षमा उभिएको छ ।

तनावोन्मुख अमेरिका–उत्तर कोरिया सम्बन्ध
परमाणु निःशस्त्रीकरण र नाकाबन्दीमा केन्द्रित रहेर अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनले गतवर्ष सिंगापुरमा भेटवार्ता गरेका थिए । तर वार्तामा ठोस निर्णय हुन नसकेपछि दुई नेताबीच यस वर्ष दुईपटक भेटवार्ता भयो । यद्यपि, वार्तामा कुनै सहमति हुन भने सकेन । दुई नेताबीच सन् २०१९ को फेब्रुअरीमा भियतनामको हनोई तथा जुलाईमा दुई कोरियाली सीमाक्षेत्रमा वार्ता भएको हो । तर उत्तर कोरियाले पछिल्लो समय आफूले महत्त्वपूर्ण क्षेप्यास्त्र परीक्षण गरेको जनाएसँगै दुई देशबीच फेरि तनाव बढ्ने आंकलन गरिएको छ ।

सान्ना बनिन् कान्छी प्रधानमन्त्री
फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन यसै वर्ष विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भइन् । प्रधानमन्त्री आन्ती रिन्नेले पदत्याग गरेपछि सोसल डेमोक्र्याटिक पार्टीले मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको हो । प्रधानमन्त्रीमा निर्वाचित भएसँगै मरिनले महिला बाहुल्य मन्त्रिमण्डल गठन गरेकी छन् । त्यसका साथै उनको मन्त्रिपरिषद्का धेरै सदस्य ४० भन्दा कम उमेरका छन् । गठबन्धन सरकारमा ५ वटा दल सहभागी छन् । सबै दलको नेतृत्व महिलाले गरेका छन् भने ४ दलका नेतृ ३५ वर्षभन्दा कम उमेरका छन् ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्