Logo

छात्रालाई मासिक १६ सेनेटरी प्याड



काठमाडौँ, १५ पुस । सरकारले सामुदायिक विद्यालयका छात्राहरूलाई सेनेटरी प्याड वितरण गर्न थालेको छ । मन्त्रिपरिषद्ले प्रत्येक छात्रालाई मासिक १६ थान प्याड उपलब्ध गराउने कार्यविधि स्वीकृत गरेपछि वितरण थालिएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार ललितपुरको महालक्ष्मी नगरपालिकास्थित सिद्धिपुर माविका छात्राहरूलाई प्याड हस्तान्तरण गर्दै वितरण शुभारम्भ गरे । सरकारको निर्णयअनुसार ६ देखि १२ कक्षासम्मका छात्राले हरेक महिनावारी चक्रमा १६ थानका दरले प्याड सित्तै पाउने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताए । महिनावारीमा पनि छात्राहरूको पठनपाठन सहज बनाउन ७ सय ५३ वटै स्थानीय तहमा प्याड खरिदका लागि बजेट पठाइएको छ । चालु वर्ष १४ लाख ३७ हजार छात्राका लागि प्याड किनेर बाँड्न १ अर्ब २७ करोड रुपैयाँ बजेट छुट्याइएको छ । ‘प्याड बाँड्न कार्यविधि सहित स्थानीय तहहरूमा रकम पठाइएको छ,’ पौडेलले भने ।

प्याडको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गुणस्तर मापदण्ड तोकेको छ । ९५ प्रतिशतभन्दा बढी सुतीको कपडा भएको, सेता रङ वा मलमलको प्याड लम्बाइ कम्तीमा दुई हात र चौडाइ आधा हात हुनुपर्ने कार्यविधिमा उल्लेख छ । सरकारले आर्थिक वर्ष ०७६ र ७७ को नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयका छात्रालाई प्याड उपलब्ध गराइने
भनेको थियो ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot