Logo

भ्रमण वर्षः सिन्धुलीमा बुद्ध मूर्ति, घरबास र जलयात्रा



सिन्धुली, १५ पुस : सिन्धुली जिल्लामा नेपाल भ्रमण वर्ष २०२० मनाउन स्थानीय तहहरुले कार्यक्रम गर्ने तयारी गरेका छन् । नौ स्थानीय तहमध्ये हालसम्म आठ स्थानीय तहले कार्यक्रम तय गरिसकेका छन् ।

भ्रमण वर्षको शुरुवाती दिनमै कमलामाई नगरपालिकाले यही पुस १६ गते सिन्धुलीगढीबाट कार्यक्रम शुरु गर्ने भएको छ । जिल्लाको ऐतिहासिकस्थल गढीको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले त्यहीँबाट भ्रमण वर्ष शुरु गरिने नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार कमलामाई नगरपालिकाले यही पुस २७ गते सिन्धुलीगढीमा पृथ्वीनारायण शाहको शालिक अनावरण गर्ने तयारी भएको छ । केही दिनपछि नगरकार्यपालिकाको बैठक बसेर पर्यटन वर्षभरि गरिने कार्यक्रमको तय हुने उनले जानकारी दिए । हालसम्म दुई कार्यक्रम तय भएको र पछि थप कार्यक्रम गरिने उनले बताए ।

मरिण गाउँपालिकाले प्रसिद्धस्थल पञ्चकन्या मन्दिरमा विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । अन्य पर्यटकीस्थलमा कार्यक्रम गर्न गाउँकार्यपालिकाको बैठकले थप निर्णय गर्ने छ । हरिहरपुरगढी गाउँपालिकाले महोत्सव सञ्चालन गर्ने तथा कुण्ड पोखरीमा कार्यक्रम सञ्चालन गर्ने विशेष तयारी गरेको गाउँपालिका अध्यक्ष कारसाङ लामाले जानकारी दिए ।

फागुन पहिलो हप्ता हरिहरपुरगढीमा महोत्सव सञ्चालन गरिने छ । तिमिलडाँडाबाट भारतको सीतामाडीलगायत शहर तथा जनकपुर, वीरगञ्ज, गौरलगायत देख्न सकिने भएकाले उक्त स्थललाई व्यवस्थित गर्दै पर्यटकलाई भित्र्याउने योजना रहेको उनले बताए ।

घ्याङ्लेख गाउँपालिकाले पालिकामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन दृश्यावलोकनस्तम्भ निर्माण गर्ने जनाएको छ । गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले फाफरचुरीमा भ्युटावर निर्माण गर्ने तयारी भएको र पालिकामा आउने पर्यटकलाई बासका लागि पाहुनाघर निर्माण भइरहेको जानकारी दिए । गुम्बा र मन्दिरको संरक्षण गर्दै विभिन्न स्थानमा बुद्धको मूर्ति निर्माण गर्ने तयारी भएको जानकारी पनि उनले दिए ।

त्यसैगरी सुनकोशी गाउँपालिकाले पर्यटक भित्र्याउन र प्रचारप्रसार गर्न विभिन्न कार्यक्रम गर्ने भएको छ । अहिले सुनकोशीमा जलयात्रा शुरु गरिएको गाउँपालिका अध्यक्ष दीपा बोहोराले जानकारी दिए ।

सुनकोशीको महाभारत क्षेत्रमा रहेका नागी, बन्दीपुर र चालिसेमा घरबास सञ्चालन गर्ने तयारी गरिएको उनले जानकारी दिए । कुशेश्वर महादेव मन्दिरमा मेला लगाउने र विभिन्न मन्दिरको संरक्षण गर्ने तयारी गरिएको समेत उनको भनाइ छ । सुनकोशीले धार्मिकस्थलमा स्तूपसमेत बनाउने भएको छ । गाउँपालिका अध्यक्ष बोहोराले भने, “यहाँका तामाङ बस्ती, मगर बस्तीलगायत जनजातिका बसोबास भएका स्थानहरुमा स्तूप बनाउने र धार्मिक सम्पदाको संरक्षण र प्रचारप्रसार गर्ने योजनासमेत बनाउँदै छौ ।”

यस्तै गोलन्जोर पर्यटकीयस्थलको संरक्षण गर्ने अभियान चलाइएको प्रवक्ता दौलत कार्कीले जानकारी दिए । गाउँपालिकाले वडा नं ४, ५ र ६ को सङ्गमस्थल तथा पर्यटकीस्थल गोलन्जोरडाँडामा भ्युटावर निर्माण गरेको जानकारी उनले दिए । सुनकोशीमा जलयात्रा, जुनार क्षेत्रको अवलोकन, मन्दिरको संरक्षणलगायत कार्यक्रम पनि गरिने उनको भनाइ छ ।

फिक्कल गाउँपालिकाले जलयात्रा महोत्सव तथा खाना– खाजा महोत्सव गर्ने गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिए। उनले गाउँ कार्यपालिकाको बैठकले कृषि तथा जडीबुटीको प्रशोधन, प्रदर्शनी तथा अध्ययनअवलोकन, किबीको प्रचारप्रसार तथा अध्ययन अवलोकन गर्न सकिने गरी कार्यक्रम गर्ने निर्णय गरेको जानकारी दिए ।

जिल्लाकै अग्लो स्थान फिक्कलबाट सगरमाथा तथा अन्य हिमालको नजीकबाट अवलोकन गर्न सकिन्छ । जिल्लाको अग्लो स्थानमा रहेको नगदह, तीनचम्के पोखरीको समेत अवलोकन गर्न सकिने र त्यसको प्रचारप्रसार गरिने समेत उनले जानकारी दिए ।

गाउँपालिकाले स्थानीय भाषा, संस्कृति र कलाको संरक्षण गर्दै पालिकामा घुम्न आउने पर्यटकलाई घरबास सञ्चालन गरेको छ । फिक्कलका घरबासमा आउने पर्यटकले स्थानीय कलासंस्कृतिका साथैै स्थानीय उत्पादन र अल्लोबाट उत्पादित कपडासमेत खरीद गर्न सक्ने बताइएको छ ।

पालिकाले गुराँस फुल्ने समयमा जिल्लाको अग्लो स्थानमा रहेको रतनेथाम खेल मैदानमा अध्यक्ष कप फुटबल प्रतियोगितासमेत सञ्चालन गर्ने भएको छ ।
दूधौली नगरपालिकाले महुगङ्गा महादेव मन्दिरमा विशेष कार्यक्रम गर्ने भएको छ । नगरपालिकामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बस्नका लागि दनुवार समुदायमा रु तीन करोडको लागतमा घरबास सञ्चालन गर्ने तयारी भइरहेको नगर प्रमुख घनश्याम राउतले जानकारी दिए ।

यसैबीच जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शङ्करराज बर्मा तिवारीले जिल्लाका स्थानीय तहसँग भ्रमण वर्ष मनाउने सन्दर्भमा छलफल गरिएको बताए। स्थानीय पालिकाका प्रमुखहरुलाई भ्रमण वर्षमा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको उनले बताए । सिन्धुली जिल्ला ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपमा धनी भएकाले यसको प्रचारप्रसार गर्नसमेत उनले आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस्