काठमाडौं, १५ पुष । प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्व्निर्धा्रित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ ।
सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नुपरेकाले बैठक स्थगन भएको बुझिएको छ । यसअघि पनि यही पुस ११ गते सूचना टाँस गरी बैठक स्थगन गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ । सभामुखमा प्रमुख सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाबी छ । उसले कसलाई सभामुख बनाउने भन्नेबारे ठोस निर्णय गर्न सकेको छैन् ।
प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच पार्टीबाट कसलाई सभामुख बनाउने भन्नेबारे यसअघिपनि छलफल तथा परामर्श भएका थिए । तर, उनीहरुबीच यस विषयमा अहिलेसम्म ठोस सहमति भएको छैन् । नेकपानिकट उच्च स्रोतले दिएको जानकारीअनुसार सभामुखमा पूर्व माओवादी केन्द्रबाट दाबी कायमै छ ।
यसको लागि अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीसँग आफ्नो अडान राखिरहेका छन् । यसअघि पनि शक्ति सन्तुलनको लागि सभामुख पूर्व माओवादी केन्द्रलाई नै दिईएको थियो । पूर्व माओवादी केन्द्रबाट प्रमुख सचेतक देवप्रसाद गुरुङ , अग्निप्रसाद सापकोटा र पम्फा भुषालको दाबी छ । यता, पूर्व नेकपा एमालेबाट भने पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ्को दाबी छ । ओलीले पनि उनैलाई ल्याउन चाहेको विशेष सूत्रले जनाएको छ ।




प्रतिक्रिया