Logo

किसानलाई हाते ट्र्याक्टर वितरण



काठमाडौ, १६ पौष । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका र वडा नं ९ को संयुक्त आयोजनामा पलाञ्चोकका किसानलाई २५ वटा हाते ट्र्याक्टर वितरण गरिएको छ । पाँचखाल नगरपालिका–९ को कार्यालयमा मङ्गलबार कार्यक्रमको आयोजना गरी नगरप्रमुख महेश खरेलले स्थानीय कृषकलाई ट्र्याक्टर वितरण गरेका हुन् ।

ट्र्याक्टर हस्तान्तरण गर्दै नगर प्रमुख खरेलले कृषिमा यान्त्रिकीकरण र व्यवसायीमा आधुनिकीकरण गर्ने उद्देश्यले ट्र्याक्टर वितरण गरेको बताए । सो क्रममा किसानलाई सामग्रीको उचित प्रयोग गरी आम्दानीमा वृद्धि हुने विश्वास व्यक्त गरे ।  अनुदानमा पाएको भनेर दुरुपयोग नगरी कृषिलाई आधुनिकीकरणसँग जोडेर उत्पादन बढाउन प्रयोग गर्न अनुरोधसमेत गरे ।

पाँच जनाको समूह बनाएर वितरण गरिएको ट्र्याक्टरले १०० कृषक परिवारलाई समेट्ने वडाध्यक्ष किरण श्रेष्ठले बताए । ५० प्रतिशत अनुदानमा कृषकले रु २० हजार ५०० तिर्ने गरी उपलब्ध गराइएको उनको भनाइ छ । किसानको समूह गठन गरी ती ट्र्याक्टर वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।

वडा नं ९ ले यसअघि पनि २७ वटा हाते ट्र्याक्टर वितरण गरेको थियो भने नगरपालिकाको–६ ले पनि यसअघि हाते ट्र्याक्टर वितरण गरिसकेको छ। त्यस्तै नगरपालिकाको समन्वयमा वडा नं ४ मा पनि हाते ट्र्याक्टर वितरण गर्ने तयारीमा लागेको पाँचखाल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लोकनारायण भण्डारीले जानकारी दिए । –रासस



प्रतिक्रिया दिनुहोस्