Logo

सभामुख पदले ओली-प्रचण्ड विवाद, पूर्व एमाले र पूर्व माओवादीबीच कित्ताकाट



काठमाडौं, १८ पौष । नेपाल कम्युनिष्ट पार्टीभित्र सभामुख कस्लाई बनाउने विवादले संकट गहिरिएको छ । अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच सभामुख पदकै कारण विवाद चुलिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष ओली कुनै हालतमा सुवासचन्द्र नेम्वाङलाई सभामुख बनाइछाड्ने अडान लिइरहेका छन् । प्रचण्ड कुनै हालतमा नेम्वाङलाइ बन्न नदिने र पूर्व माओवादीबाट सभामुख बन्नुपर्ने अडानमा छन् । दुई नेताबीच सहमति बन्न नसक्दा संसदको हिउँदे बैठक दुईपटक सूचना टाँस गरेर सारिएको छ ।

सभामुख कुनै हालतमा पूर्व एमालेलाई दिन नहुनेमा पूर्व माओवादी पक्षधर नेताहरुले अध्यक्ष प्रचण्डलाई भेटेरै भनेका छन् । अलग्गै बैठक बसेर सभामुख पद संवैधानिक आयोगको नियुक्तिसँग समेत जोडिएकाले टसमस नहुन नेताहरुले प्रचण्डलाई भनेका छन् । प्रधानमन्त्री ओलीले सभामुखसमेत आफू निकटस्थलाई बनाएर देशका शक्तिशाली निकायमा एकछत्र प्रभाव बनाउन खोजेको भन्दै पूर्व माओवादी नेताहरुले प्रचण्डलाई शतर्क बनाएको बुझिएको छ । एक पूर्व माओवादी नेताका अनुसार सभामुख आफू निकटस्थलाई बनाएर प्रधानमन्त्री ओलीले सबै क्षेत्रमाथि नियन्त्रण बनाउन खोजेका छन् ।

प्रचण्डले कुनै हालतमा पूर्व माओवादीबाहेकबाट सभामुख नमान्ने रणनीति बनाइसकेका छन् । यसका लागि जुनसुकै कदम चाल्न तयार रहने गरी प्रचण्ड अगाडि बढेको बुझिएको छ ।

सभामुखकै विषयमा पटक पटक ओली र प्रचण्डबीच बैठक बसेपनि सहमति बन्न सकेको छैन । बिहिबारको सचिवालय बैठकमा सभामुखकै विषयमा विवाद भएको बुझिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार सभामुखको विषयलाई लिएर चर्काचर्की भएको छ । नेम्वाङको पक्षमा पूर्व एमाले नेताहरु सबै एक भएका थिए । प्रधानमन्त्री ओलीलाई माधवकुमार नेपाल र झलनाथ खनाल दुवैले साथ दिएका थिए ।

सभामुख आफू निकटस्थलाई बनाउनुपर्ने प्रचण्डको अडान पुनः सचिवालय बैठकमा दोहोरिएको थियो । सचिवालय सदस्य रामबहादुर थापा बादल र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश खुलेरै प्रचण्डको पक्षमा उभिएका थिए । बैठकमा सहमति बन्न नसकेपछि सभामुख पदकै कारण पूर्व एमाले र पूर्व माओवादीबीच नेकपाभित्र विवाद चर्किएको छ । File Photo: reportersnepal



प्रतिक्रिया दिनुहोस्