Logo

कृषकलाई पशुपालनमा आकर्षित गराउन घर घरमा सहयोग



फिदिम, १८ पुस : पाँचथरको एक सहकारी संस्थाले व्यावसायिक पशुपालन गर्ने कृषकलाई घर घरमा पुगेर उन्नत जातको पशु खरिदका लागि रकम उपलब्ध गराएको छ । व्यावसायिक पशुपालनका लागि उद्यमशीलता विकाससम्बन्धी तालिम लिएका कृषकलाई नगदका अतिरिक्त प्राविधिक ज्ञान र पशुको उपचारमा सहयोगसमेत प्रदान गर्दै आएको छ ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकामा रहेको फिक्चुखोला कृषि सहकारी संस्थाले वडा नं १, २, ३ र ४ का ७० जना कृषकको घरदैलोमै पुगेर सरल ब्याजदरमा घुम्ती कोषको कर्जा उपलब्ध गराएको हो । सहकारीले प्रत्येक कृषकलाई उन्नत प्रजातिको गाई अथवा भैँसी खरिद गर्न रु ४० हजारका दरले घुम्ती कोष वितरण गरेको हो ।

सो सहकारीले फाल्गुनन्दको वडा नं १ का २१ जना, वडा नं २ का ९ जना, वडा नं ३ र ४ का २०-२० जना कृषकलाई घुम्ती कोष उपलब्ध गराएको छ । सहकारीले वडामै कार्यक्रमको आयोजना गरी कृषकलाई घुम्ती कोषको रकम उपलब्ध गराएको हो । दूध तथा दुग्धजन्य सामग्री उत्पादनमा सहयोग गरी कृषकको आयस्तर उकास्ने उद्देश्यले उक्त सहकारीले घुम्ती कोष परिचालन गरी ऋण लगानी गरेको हो ।

सहकारीले व्यावसायिक पशुपालन गर्न कृषकलाई प्राविधिक सहयोग र पशु बीमाका लागिसमेत सहयोग गरेको छ । अन्तरर्राष्ट्रिय दातृ संस्था गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा घुम्ती कोष परिचालनमा ल्याइएको फिक्चुखोला कृषि सहकारीका अध्यक्ष बहादुरसिंह नेम्वाङले जानकारी दिए।

परम्परागत पशुपालन गर्दै आएका कृषकलाई उन्नत प्रजातिका गाईभैँसी खरिद गरी व्यावसायिकरुपमा दूध उत्पादनमा केन्द्रित गर्दै आर्थिकस्तर उकास्ने उद्देश्यले सो सहकारीले पशुपालनका लागि घुम्ती कोष कर्जा उपलब्ध गराएको जनाइएको छ ।

कृषकले कर्जाको प्रत्येक महिना ब्याज र प्रत्येक तीन महिनामा घुम्ती कोषबापतको किस्ता रकम फिर्ता गर्नुपर्नेछ । उन्नत प्रजातिका पशुपालन गर्ने कृषकले दूध बिक्रीबाट नै उक्त कर्जा फिर्ता गर्नसक्ने उनले बताए ।

उन्नत प्रजातिको पशु खरिद गर्ने, भकारो सुधार गर्ने र पशुको बीमा गर्ने कृषकलाई सहकारीले रु १० हजार प्रोत्साहन रकमसमेत उपलब्ध गराउने भएको छ । “प्रोत्साहन रकम प्राप्त गर्न उन्नत प्रजातिको गाईभैँसी खरिद गरेकै हुनुपर्छ”, अध्यक्ष नेम्वाङले भने, “हामीले घुम्ती कोष परिचालन गरेका सबै बस्तीमा कति दूध उत्पादन भई बिक्री भइरहेछ भनेर तथ्याङ्क तयार पारिसकेका छौँ । कृषकले दूध उत्पादनमा वृद्धि गरे नगरेको भोलिका दिन तयार हुने तथ्याङ्कले देखाउँछ ।”

कृषकले व्यावसायिक पशुपालनलाई अघि बढाएपछि सहकारीले दूध तथा दुग्धजन्य पदार्थ सङ्कलन, ढुवानी र उद्योग स्थापनाका लागि लगानी गर्ने जनाएको छ ।
सो सहकारीले हालसम्म गुड नेवर्स इन्टरनेशनलको सहयोगमा रोजगारी सिर्जना तथा मूल्य शृङ्खला विकास परियोजना सञ्चालन गर्दै आएको थियो । पछिल्लोपटक बेल्जियमको किङ बाउण्डिङ फाउण्डेसनसँग लागत साझेदारीमा दूग्ध मूल्य शृङ््खला विकास परियोजना कार्यान्वयनमा ल्याउने जनाएको छ ।

परियोजनाले दूध उत्पादनदेखि बजार सुनिश्चिततासम्म सहयोग पु¥याउनेछ । यसमा सहकारी संस्था, स्थानीय तह र दातृ निकायको लागत सहभागिता रहनेछ । साथै सहकारीले कूल लागतको २० प्रतिशत, स्थानीय तहले १० प्रतिशत, गुड नेवर्स इन्टरनेशनलले ३० प्रतिशत र किङ बाउण्डिङ फाउण्डेसनले ४० प्रतिशत लगानी गर्ने निश्चित भएको सहकारीका सचिव राजेन्द्र आङ्देम्बेले जानकारी दिए ।

फिक्चुखोला कृषि सहकारीले विगत दुई वर्षदेखि व्यावसायिक पशुपालनमा सहयोग पु¥याउँदै आएको छ । यसअघि सो सहकारीले फाल्गुनन्द गाउँपालिका वडा नं २ का ५४ कृषकलाई उन्नत गाईपालनमा तथा ६८ जना कृषकलाई उन्नत बङ्गुरपालनमा लगानी गरिसकेको छ । गाईपालक कृषकले रु ५८ हजार ८०० का दरले घुम्ती कोष तथा रु २५ हजार २०० का दरले अनुदान प्राप्त गरेका थिए ।

यस्तै बङ्गुरपालक कृषकले रु १० हजार ७०० देखि रु ४१ हजारसम्म घुम्ती कोष र रु चार हजार ४०० देखि रु १७ हजारसम्म अनुदान प्राप्त गरेको उक्त सहकारीले जनाएको छ । जिल्लामै पहिलोपटक व्यावसायिक पशुपालनका लागि सरल व्याजदरमा घुम्ती कोष, अनुदान र प्राविधिक सहयोग प्राप्त गरेको भन्दै कृषकले खुशी व्यक्त गरेका छन् । फाल्गुनन्द गाउँपालिका वडा नं १ मा डेरी उद्योग सञ्चालन गर्दै आएका दिलकुमार आङ्देम्बेले एउटा सहकारीले कृषकलाई व्यावसायिक बनाउन ऋणदेखि प्राविधिक सहयोगसम्म उपलब्ध गराउनु महत्वपूर्ण रहेको अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए।

“सबैले परम्परागतरुपमा पशुपालन गर्दै आएका थियौँ । तर सहकारीले उन्नत गाईभैँसी खरिदमा गरेको सहयोगलाई आधार मानेर सबै कृषकले व्यावसायिक पशुपालनतर्फ अघि बढ्नुपर्छ”, उनले भने ।

डेरी उद्योग सञ्चालक खगेन्द्र मिश्र पाँचथरका विभिन्न गाउँमा उत्पादन हुने दूधले बजार नपाउने चिन्ता नरहेको बताए । “हाम्रो डेरीले अझै एक हजार ५०० लिटरसम्म दूध खरिद गर्न सक्छ । गाउँदेखि शहरसम्म रहेका डेरी उद्योग र दूग्ध विकास संस्थानका चिज उत्पादन केन्द्रले थप दूध खरिद गर्न सक्छन्”, उनले भने, “व्यावसायिक पशुपालनमा भएको यसप्रकारको सहयोगले दूध उत्पादन त बढ्छ नै, कृषकको आयस्तर उकास्न ठूलो सघाउ पुग्छ ।”

अन्तरराष्ट्रिय दातृनिकाय गुड नेवर्स इन्टरनेशनलका प्रदेश नं १ प्रमुख कृष्णराज जोशीले कृषकले व्यावसायिक पशुपालन र ठूलो परिमाणमा दूध उत्पादन गर्नसके आफ्नो संस्थाले दुग्धजन्य उद्योग स्थापनामा समेत थप लगानी गर्नसक्ने जानकारी दिए । घुम्ती कोषको वृद्धि गर्न सकिने उनले जानकारी दिए ।रासस



प्रतिक्रिया दिनुहोस्