Logo

प्रधानमन्त्री ओलीको १२ औँ पटक डायलासिस, मिर्गौला पुनः प्रत्यारोपण अन्योलमा



पुष १९, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रबार १२औँ पटकको डायलाइसिस शुक्रबार गरिएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जको कलेजो प्रत्यारोपण युनिटमा प्रधानमन्त्री ओलीको नियमित डायलाइसिस भएको हो । प्रधानमन्त्री ओली १४ कात्तिकदेखि नियमित डायलाइसिस भइरहेको छ । तर, मिर्गौला प्रत्यारोपणको टुंगो भने अझै लागेको छैन ।

विस २०६४ सालमा भारतको अपोलो अस्पतालमा उनको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । गत कात्तिकदेखि मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि सातामा कम्तीमा एक–पटक डायलाइसिस चलिरहेको हो । प्रधानमन्त्री ओली गत १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएको थियो । २७ साउन स्वदेश फर्किनभएका ओलीले ५ भदौमा फेरि सिंगापुर पुगेर प्लाज्माफेरेसिस प्रक्रियामार्फत उपचार गराएका थिए ।

प्लाज्माफेरेसिसले काम नगरेपछि ओलीको मिर्गौला नियमित डायलाइसिस गर्नुपर्ने वा प्रत्यारोपणमा जानुपर्ने दुई विकल्पमा पुगेको हो । दोस्रो प्रत्यारोपणको तयारीमा रहेको भनिए पनि औपचारिक रुपमा केही पनि जानकारी गराइएको छैन । पटक पटक अस्पतालको दौडधुपले प्रधानमन्त्री केपी ओलीको दैनिक कामकाज नै प्रभावित हुँदै आएको छ । सार्वजनिक वा आधिकारिक रुपमा मिर्गौला फेर्नेबारे कुनै जानकारी नदिए पनि भित्रै भित्रै भने गृहकार्य र छलफल भइरहेको छ ।

चिकित्सकहरुले नियमित डालासिस गर्नुभन्दा पुनः प्रत्यारोपण नै उचित हुन सल्लाह दिइसकेका छन् । यद्यपी औपचारिक निर्णय भने भइसकेको छैन । प्रधानमन्त्रीको १२ बर्ष अगाडि मिर्गौला प्रत्यारोपण भएको थियो । प्रत्यारोपण गरेको मिर्गौलाका अहिले नियमित डायलासिस गरिएको छ ।

कार्यकारी अधिकारसम्पन्न प्रधानमन्त्रीको स्वास्थ्य ठीक नहुँदा सरकारको कामकाग प्रभावित हुनु स्वभाविक नै हो । त्यसैले जतिसक्दो स्वस्थ भएर सक्रिय रुपमा काममा फर्किन वातावरण बनाउनु महत्वपूर्ण देखिन्छ ।

नेपालमा अहिलेसम्म १० जनामा दोस्रो मिर्गौला प्रत्यारोपण सफल भएको छ । शिक्षण अस्पताल महाराजगन्जमा दुईजना तथा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा दुईजनाको सफल प्रत्यारोपण भएको हो । प्रधानमन्त्रीको मिर्गौला नेपालकै अस्पतालमा प्रत्यारोपण गर्ने कि विदेश लैजाने भन्ने विषयमा पनि छलफल भइहरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्