Logo

‘नयाँ नेतृत्व नआए काँग्रेस सकिन्छ’



सुजाता कोइरालाः नेपाली काँग्रेस अहिले इतिहासकै कमजोर अवस्थामा छ । पार्टीमा अहिलेसम्म नभएको गुट छ । कल्पना नगरेको गुट भयो । यसलाई मिलाउन नसके खतरनाक अवस्था आउँछ । शेरबहादुर देउवाजीले आफू अनुकूल भए विधान राख्ने नभए फेर्ने काम गर्नुभयो । विधान अनुसार पार्टी चल्नुपर्छ । तर, नेताहरुमा आफूमाथि विश्वास छैन । आफूमाथि नेताहरुमा आत्मविश्वास नभएर विधान आफू अनुकुल फेर्ने र बनाउने गर्छन् । पार्टी कब्जा गर्न विधान फेर्ने तरिका छ ।

शेरबहादुरजीले अन्तर्राष्ट्रिय सम्बन्ध बिगार्नुभयो । काँग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर छ । काँग्रेस लोकल पार्टी जस्तो भइसक्यो । यसरी पार्टी चल्छ ? यही अवस्थामा चलाउने हो भने पार्टी चल्दैन, पार्टी रहँदैन । अब काँग्रेसमा नयाँ पुस्ता नेतृत्वमा आउनुपर्छ । युवा पीढींलाई अवसर दिनुपर्छ । नयाँ विचार र जोस भएको नेतृत्व नआए पार्टी रहँदैन । पार्टीको संरचना भताभुंग छ । संरचना नै छैन । अन्तिम समयमा आएर विभाग गठन गर्ने काम भएको छ । यस्तो पनि पार्टी हुन्छ ? कसरी चुनावमा प्रस्तुत हुने ? काँग्रेस यतिकै हल्लिएर चलेको छ ।

पार्टीमा अराजकता र विकृति छ । दयनीय अवस्था छ । म आफैले भनेको छु कि काँग्रेसलाई भोट हाल्दा मेरै हात काप्छ । यसमा जो रिसाओस् यथार्थ यही हो । मेरै हात काँप्छ भने जनताले भोट हाल्छ ? झगडा गरिराख्ने पार्टीलाई भोट हाल्छ ? काँग्रेसलाई जोगाउने हो भने मिलेर जानुको विकल्प छैन । मिलेको भए चुनावमा क्लिन स्वीप गथ्र्यो । सभापतिजीको पनि कमजोरी छ । पद्धति र प्रणालीमा हिंडनुपर्छ दल । अब शेरबहादुरजी र रामचन्द्र पौडेल दुवैले विश्राम लिनुपर्छ । दुवैले विश्राम लिएर क्षमतावान र सबैलाई मिलाएर जानसक्नेलाई नेतृत्वमा ल्याऔं ।

नेताहरु पद त्यागेर जानुपर्छ । नेतृत्व त्यतातर्फ जानुपर्छ । म पद त्यागका लागि तयार छु । नयाँ पीढींलाई ल्याउने र काँग्रेसलाई नयाँ ऊर्जा दिने सहमति गरौं म अहिले नै विश्राम लिन्छु । मिल्यो भने नेपाली काँग्रेस बहुमत ल्याउँछ । साँच्चै मिल्यो भने जित्छ ।

काँग्रेसको लामो इतिहास छ । लामो संघर्ष गरेका नेताहरु हुनुहुन्छ । जेल जीवन बिताएर आएका नेताहरुले त्याग्नुपर्छ । सबैले त्यागौं र उत्कृष्ट उम्मेदवारलाई जिताऔं । नयाँ अनुहार आउनुपर्छ । नयाँ मान्छे नयाँ सोच हुनुपर्छ । सधैं उही अनुहार ।

म पार्टी मिलाउने प्रयास गर्छु । शेरबहादुर देउवाले भातृ संगठनको चुनाव गराउन लचिलो हुनुपर्छ । बाँडफाँड गरेर आफ्नो मान्छे ल्याउने प्रवृत्ति बन्द गर्नुपर्छ । नयाँ अनुहार, नयाँ तरिकाले जानुपर्छ । पार्टी कब्जा गरेर सभापति जो पनि बन्न सक्छ । तर, पार्टी बलियो हुँदैन । शेरबहादुर देउवाले त्याग्नुपर्छ, चार पटक प्रधानमन्त्री भइसकेको । रामचन्द्र पौडेल पनि सधै पावरमा हुनुहुन्छ । उहाँहरुले फराकिलो छाति देखाउनुपर्छ ।

अब हाम्रो समूहमा एउटामात्र उम्मेदवार बन्नुहुन्छ । सबै मिलेर जिताउने हो । उम्मेदवार जो कोही हुनसक्छ । त्यसका लागि मूल्यांकन गर्ने, लोकप्रीयता बुझ्ने, पार्टीको बागडोर हाँक्ने व्यक्ति तय गर्ने हो । जो हुन्छ त्यसमा सहमति हुन्छ ।सबै मिलेर जान्छौं, नमिली जित्दै जित्दैनौं । कोइराला परिवार भित्र या बाहिर जोसुकै हुनसक्छ । कोइराला परिवारभित्र या बाहिर जो सभापति लडेपनि एकजुट भएर समर्थन गर्छौं । हामी तीनजना मात्र छैनौं । अरु पनि छन् । सशांक र शेखरजीको समर्थनले मात्र म जित्दिनँ । प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह केसी सबैको समर्थन चाहिन्छ । कोइराला परिवारले पार्टी एकताका लागि पद त्याग्न तयार छ । म छोड्न तयार छु भने अरु किन तयार नहुने ?

१४ औं महाधिवेशनपछि काँग्रेस नेतृत्व नयाँ पुस्तामा आउँछ । शेरबहादुर देउवा र रामचन्द्र पौडेल फेरि सभापतिको चुनाव लड्नुभयो भने हाँस्यास्पद हुन्छ । उहाँहरु दुवैले नयाँ पीढींलाई अगाडि बढाउनुपर्छ । अभिभावक भएर बस्नुपर्छ । अब मिलाउने हो दुवैले । हाँस्यास्पद काम नगर्नुहोस् । पार्टीलाई जोगाउन त्याग देखाउनुहोस् । अब पनि पुरानै अनुहार रह्यो भने काँग्रेस सकिन्छ । ऋषि धमलासँगको अन्तवार्ताको सम्पादित अंश



प्रतिक्रिया दिनुहोस्