Logo

पक्राउ परेका १२२ चिनियाँ नागरिक आज देश निकाल गरिदै, लिन चीनका दुईवटा विमान काठमाडौं उत्रिर्दै



काठमाडौं २३ पुस । ठगी धन्दा चलाएको आशंकामा दुई साताअघि पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई आज बुधवार फिर्ता पठाउने तयारी छ । उनीहरुलाई लिन चिनियाँ जहाज आउँदैछ । अध्यागमन विभागले चिनियाँ दूतावासको समन्वयमा उनीहरुलाई चीन पठाउन लागेको हो । उनीहरुलाई लिन बुधबार अपराह्न चीनका दुईवटा विमान नेपाल आउनेछन् । तर उनीहरु बाट नेपालमा कोही पनि पीडित भएको पाइएको छैन ।

अनुसन्धानका लागि दुई साता हिरासतमा राखिएका ती चिनियाँविरुद्ध जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको मुद्दामा दोषी ठहर गर्दै आइतबार जनही एक हजार रूपैयाँ जरिवाना तिराउने निर्णय गर्यो । उनीहरू कामदारका रूपमा छनोट भएको तर पर्यटक भिसामा नेपाल प्रवेश गरेको पाइएको छ । प्रहरीका अनुसार एक सयभन्दा बढी चिनियाँलाई नेपाल ल्याउने मुख्य एजेन्ट चीनकै हुन् ।

नेपालमा कम्पनी खोलेको देखाएर त्यो एजेन्टले गुगल जस्तै चीनमा चल्ने बैदुमा कामदार माग गरेका थिए । त्यही विज्ञापन देखेर कामदारको रुपमा चिनियाँहरु नेपाल आएको खुलेको छ । पक्राउ परेका सबै चिनियाँ नागरिकले पर्यटक भिसामा नेपाल आइ घर नै भाडामा लिएर काम गरेकाले उनीहरुमाथि अध्यागमन ऐन अनुसार पनि कार्वाही हुन्छ । अध्यागमन ऐनमा ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

पक्राउ परेकामध्ये ९७ जनाको राहदानी नै छैन । सबैलाई अध्यागमन ऐन अनुसार जरिवाना तिराएर फिर्ता पठाउन अध्यागमन विमागले चिनियाँ दूतावासबाट ट्राभल डकुमेन्ट मगाएको छ । तर उनीहरुको साथबाट बरामद सामान भने थप अनुसन्धानका लागि राखिने छ ।

नेपालमा बसेर चीनमा आर्थिक अपराधको गिरोह नै चलाउन आएका चिनियाँको अपराधको शैली प्रहरीले पत्ता लगाउन सकेको छैन । नेपालको भिसा प्रणाली सहज हुँदा विदेशीले पर्यटकको भेषमा आएर गैरकानूनीरुपमा के सम्म गर्छन् भन्नेचाहिँ यस प्रकरणले उजागर गरेको छ ।



प्रतिक्रिया दिनुहोस्