Logo

मध्यमर्स्याङ्दीबाट आधा मात्र बिजुली



काठमाडौँ, २३ पुस । ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट आधा परिमाणमा मात्रै बिजुली उत्पादन हुन थालेको छ । मर्स्याङ्दीमा पानीको बहाव कम भएपछि जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकेको छैन ।

लमजुङस्थित मध्यमर्स्याङ्दी जलविद्युत् परियोजनाको ड्याम । राति र दिउँसो विद्युत् उत्पादन रोकेर जलाशयमा पानी जम्मा गरी साँझबिहान मुस्किलले तीन घण्टा मात्रै पूर्ण क्षमतामा विद्युत् उत्पादन भइरहेको मध्यमर्स्याङदी जलविद्युत् केन्द्रले जनाएको छ । मध्यमर्स्याङ्दीबाट दैनिक औसत ३६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । पानी जम्मा नगरी नदीमा बगेको पानीले २० देखि २२ मेगावाट मात्रै बिजुली उत्पादन हुन्छ । जलविद्युत् केन्द्रमा राति कहिलेकाहीँ ५ देखि ६ घण्टासम्म विद्युत् उत्पादन बन्द गरेर जलाशयमा पानी जम्मा गर्ने गरिएको छ । उक्त पानीले बिहान दुई घण्टा ७० मेगावाट विद्युत् उत्पादन हुन्छ । कहिलेकाहीँ दिउँसो करिब चार घण्टा बिजुली उत्पादन बन्द गरेर जलाशयमा पानी भरिन्छ ।

त्यसले साँझ डेढ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिन्छ । ‘आयोजनाको पिकिङ क्षमता चार घण्टा हो । सकेसम्म साँझबिहान ऊर्जा धेरै खपत हुने समयमा बढीभन्दा बढी उत्पादन दिने हाम्रो प्रयास हो,’ केन्द्र प्रमुख शिवकुमार शाहले भने । भारप्रेषण केन्द्रको मागअनुरूप विद्युत् उत्पादन बढाउने र घटाउने गरिएको उनले बताए ।
कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्