Logo

सभामुख लिने भए प्रधानमन्त्री छोड्न ओलीलाई दाहालको नयाँ प्रस्ताव



काठमाडौं, २४ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सम्बन्धमा पछिल्लो समय खटपट सुरु भएको छ । संघीय संसदको प्रतिनिधिसभाको लागि सभामुख चयनको विषयलाई लिएर अध्यक्षद्धय ओली र दाहालबीचको सम्बन्धमा असर परेको छ ।

सरकार गठन पूर्वको शक्ति–समिकरण सहमतिअनुसार पूर्व माओवादी केन्द्रको भागमा सभामुख पद परेको थियो । सोहीअनुसार कृष्णबहादुर महरा सभामुख बनाईएका थिए । महरा संसद सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपमा यतिवेला जेल जीवन बिताईरहेका छन् ।

सभामुख रिक्त रहेको लामो समय भैसक्यो । तर, अहिलेसम्म संसदको सबैभन्दा ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उम्मेद्वार चयन गर्न सकेको छैन् । यसको पछाडि नेकपाका अध्यक्षद्धय ओली र दाहालको आ–आफ्नो अडान रहेको छ । ओलीले पूर्व सभामुख तथा नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नाममा अडान लिएका छन् भने अर्का अध्यक्ष दाहालले कुनैपनि हालतमा नेम्वाङको नाम स्विकार्य नहुने कस्सी लिएका छन् ।

संसद सञ्चालन गर्न अनुभवी मान्छे चाहिने तर्क गर्दै ओलीले सभामुखमा नेम्वाङ नै सबैभन्दा योग्य व्यक्ति भएको भन्दै अर्का अध्यक्ष दाहाललाई गलाउन खोजिरहेका छन् । तर, दाहाल भने कुनैपनि हालतमा नेम्वाङलाई नदिने पक्षमा पुगेका छन् । पूर्व माओवादी केन्द्रका नेताहरुको कारणमात्रै नभएर पूर्व नेकपा एमालेका प्रभावशाली नेताहरुले समेत अध्यक्ष दाहाललाई नेम्वाङलाई सभामुख बनाउन नहुने कुरामा साथ दिएको स्रोतको दाबी छ । यसको लागि सबैभन्दा बढि साथ वामदेव गौतमले दिएका छन् ।

बरिष्ठ नेता माधव कुमार नेपाल, नेता गौतमलगायतका नेताहरुले सभामुख कसलाई बनाउने भन्ने कुरामा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको फमाईसलाई ‘ओके’ नगर्न सल्लाह दिएका छन् । सोहीअनुसार अध्यक्ष दाहालले ओलीसँग आफ्नो अडान राख्दै आएका छन् ।

पछिल्लो समय ओलीविरोधी नेताहरुले नेता गौतमको भैंसेपाटीस्थित् घरमा गोप्य भेटवार्ता तथा छलफल गरेका छन् । छलफलमा ओलीलाई कमजोर बनाउनेगरि गृहकार्य सुरु गरिएको नेकपानिकट उच्च स्रोतले जनाएको छ । कतिसम्म भने राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्ने बाटो खुल्ला गर्न संविधान नै संशोधन गर्नेगरि अघि बढ्नेबारे छलफल भएको छ ।
पूर्व एमालेका शीर्ष नेताहरुले नै साथ दिएपछि अध्यक्ष दाहालले सभामुखमा मरिहत्ते गर्ने हो भने प्रधामन्त्री छोड्न ओलीसँग आग्रह गरेको पनि बुझिएको छ । अध्यक्ष दाहालले प्रधानमन्त्रीसँगको पछिल्लो भेटवार्तामा सभामुखमा आफूले नै भनेको व्यक्ति बनाउने अडान लिएको हो भने प्रधानमन्त्री छोड्नुहोस भनेर समेत भनिसकेको स्रोतको दाबी छ ।

सभामुखमा ओलीले नेम्वाङको नाममा अडान लिएपछि अर्का अध्यक्ष दाहाल वारपारको संघर्षमा जुटेका छन् । ओलीसँगको वारपारको लडाईमा दाहाललाई वामदेवले दरिलो साथ दिएका छन् । यसको लागि उनले ओलीविरोधी नेताहरुलाई आफ्नो घरमा बोलाई छलफल गरेर सुरुवात नै गरिसकेका छन् ।

पछिल्लो समय नेता गौतम ओलीसँग चिढिएका छन् । उनले राष्ट्रियसभा सदस्यको लागि उम्मेद्धवार बन्न अध्यक्षद्धय ओली र दाहालले गरेको आग्रहलाई समेत अस्विकार गरिदिएका थिए । कारण ओलीले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न बाटो खुल्ला गर्न संविधान संशोधन गर्नुपर्ने भनेर गौतमले राखेको प्रस्ताव ओलीले ठाडै अस्विकार गरिदिएका थिए । त्यही भएर गौतम ओलीसँग रुष्ट छन् ।

सभामुख कसलाई बनाउने भन्नेबारे अहिलेपनि नेकपामा एकमत छैन् । सभामुखको निर्वाचन प्रक्रिया तत्काल सुरु गर्न भनेर पार्टीभित्र र प्रतिपक्षी दलले पनि दबाब दिन थालेपछि अध्यक्षद्धय दिनहुँ छलफलमा जुटेका छन् । दुई जना नेताले सिंगो संसदलाई नै बन्धक बनाउन खोजेको भनेर आरोप लगाईएको छ । प्रतिनिधिसभाको बैठक यही पुष २७ गतेको लागि बोलाईएको छ । त्यो भन्दा अघि नै सभामुखमा नाम टुँगो लागे त्यो दिन निर्वाचन प्रक्रिया आरम्भ हुने थियो । अन्यथा सभामुख चयन प्रक्रिया अझै लम्बिन सक्ने अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्