Logo

चढ्दै प्रदूषण पारो



काठमाडौं, २५ पुस । जाडोयाममा वायु प्रदूषण बढी हुने र त्यसबाट उत्पन्न कण फोक्सो तथा रक्त प्रणालीमा सीधै प्रवेश गर्न सक्ने भएकाले अहिले राजधानीमा मुटुरोग, उच्च रक्तचाप, हृदयाघात, फोक्सोको क्यान्सर, मस्तिष्कघात लयायतका रोग बढेकाले त्यसलाई कम गराउने उद्देश्यसहित सरकारले काठमाडौं उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ अघि सारेको छ।

हाल मन्त्रिपरिषद्मा निर्णयका लागि प्रस्तुत गरिएको सो कार्ययोजनामा राजधानीको वायु प्रदूषणले जनस्वास्थ्य, अर्थतन्त्र तथा वातावरणमा पार्ने प्रभावको नियमित अध्ययन गरी त्यसको डाटाबेस हरेक वर्ष अध्यावधिक गर्ने उल्लेख छ। त्यसैअनुसार वायु प्रदूषण न्यूनीकरणका उपाय अपनाउने पनि सरकारको तयारी छ। ‘हामीले गत साता यो प्रस्तावित कार्ययोजनालाई मन्त्रिपरिषद्मा निर्णयार्थ पेस गरेका छौं,’ वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. सिन्धुप्रसाद ढुंगानाले बताए।

विश्वका अन्य देशहरूमा वायु प्रदूषण र मानव स्वास्थ्यको अन्तरसम्बन्धबारे अध्ययनहरू भए पनि नेपालमा यसप्रकारको अध्ययन भएको छैन। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१५ मा गरेको एक अध्ययनले पीएम २।५ का कणहरूको अत्यधिक मात्राले राजधानी उपत्यकामा श्वासप्रश्वास र निमोनिया रोगी बढेको देखाएको थियो। सन् २०१६ को विश्व स्वास्थ्य संगठनको एक अध्ययन प्रतिवेदनले प्रदूषणका कारण राजधानीमा मात्र झन्डै १० हजार मानिसको मृत्यु हुने देखाएको छ भने विश्व स्वास्थ संगठन, विश्व बैंक, यूएन इन्भारोमेन्ट तथा क्लाइमेट एन्ड क्लिन एयर कोलिसन मिलेर बनाइएको ब्रेथलाइफ नामक अन्तर्राष्ट्रिय अभियानअनुसार नेपालमा घरभित्र र बाहिर हुने दुवैखाले प्रदूषणका कारण बर्सेनि ३७ हजार तीन सय ९९ जनाको मृत्यु हुने गरेको छ।
नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्