Logo

क्षेप्यास्त्र प्रहारबाट युक्रेनी विमान खसेको हुुन सक्ने



काठमाडौं, पुस २५ । अमेरिका, क्यानडा र ब्रिटेनले बुधवार तेहराननजिकै दुर्घटना भएको युक्रेनी वायुसेवाको विमानलाई इरानी फौजले खसालेको भन्ने विभिन्न गुप्तचरी स्रोतहरूबाट सङ्केत मिलेको बताएका छन्।

उनीहरूले भुलवश इरानले त्यो विमानमा क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने समेत अनुमान गरेका छन्।इरानमा गत बुधवार बिहान १७६ जना सवार युक्रेनको बोइङ(७३७ विमान दुर्घटनामा पर्दा त्यसमा सवार सबै जनाको ज्यान गएको थियो।इरानी सरकारका एक प्रवक्ताले चाहिँ सो आरोपप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन्।

इरानमा दुर्घटनाग्रस्त युक्रेनी विमान ुविमानस्थल फर्किने प्रयासमा थियो ।अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार उक्त विमान दुर्घटनाको समय हेर्दा इरानले अमेरिकासँग बदला लिन तयारी गरिरहेका बेला भुलवश त्यसलाई अमेरिकी लडाकु विमान ठानेको हुन सक्छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागन र वरिष्ठ अमेरिकी गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै न्यूजवीकले युक्रेनी विमानलाई रुसमा निर्मित टोर क्षेप्यास्त्रबाट मार हानिएको हुन सक्ने जनाएको छ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार उक्त विमानमा के भयो भन्नेबारे आफूमा सन्देह रहेको बताएका थिए।

इरानका एक सैन्य जेनेरल कासिम सुलेमानी अमेरिकी हवाई कारबाहीमा मारिएपछि बढेको तनावका बीच इरानले उक्त विमानको ब्ल्याकबक्स अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई नदिने बताएको छ।

तर इरानका विदेशमन्त्रीले चाहिँ बोइङलाई अनुसन्धानमा सहभागी हुन निम्ता दिएका छन्।अन्तर्राष्ट्रिय हवाई नियम अनुसार इरानलाई उक्त दुर्घटनाको अनुसन्धानको नेतृत्व गर्ने अधिकार रहन्छ। तर त्यसमा जहाज उत्पादक पनि सामेल हुनुपर्नेछ।

विभिन्न गुप्तचरी सूचनाहरूका अनुसार जमिनबाट आकाशमा आक्रमण गर्न सकिने क्षेप्यास्त्रबाट उक्त विमानमा प्रहार भएका सङ्केतहरू पाइएको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका छन्।एजेन्सी



प्रतिक्रिया दिनुहोस्