क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले युक्रेनी विमानमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको प्रमाण भेटिएको दाबी गरेका छन्। विमान क्षेप्यास्त्र आक्रमणपछि दुर्घटनाग्रस्त भएको उनको भनाई छ ।
बुधबार बिहान तेहरानस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही बेरमै दुर्घटनामा पर्दा युक्रेनको बोइङ ७३७ विमानमा रहेका एक सय ७६ जनाको मृत्यु भएको थियो ।
युक्रेनी विमान बोइङ ७३७ मा १६७ यात्रुसहित ९ जना चालक दलका सदस्यहरु थिए। दुर्घटनामा इरानका ८२ नागरिकको मृत्यु भएको थियो भने क्यानडाका ६३ जनाको मृत्यु भएको थियो । घटनामा ११ युक्रेन, १० स्वीडेन, ४ अफगान, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्यु भएको थियो।
ट्रुडोले पत्रकार सम्मेलन गर्दै भनेका छन्,‘ युक्रेनियन विमानमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको प्रमाण भेटिएको छ। हामीले क्यानडाका सहयोगी साथै हाम्रै उच्च श्रोतहरुबाट यो जानकारी पाएका छौं कि ६३ क्यानडेली नागरिकको मृत्यु हुनेगरी भएको युक्रेनियन विमान दुर्घनाको कारण इरानी क्षेप्यास्त्र हो। क्यानडासँग प्रश्न छ र हामी उत्तर चाहन्छौं।’ सो दुर्घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग ट्रुडोले गरेका छन्।
इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा मिसाइल आक्रमण गरेको केहि घन्टाभित्रै सो जहाज दुर्घटनामा परेको थियो।
सोहि क्रममा इरानी क्षेप्यास्त्रले उक्त विमान दुर्घटनामा परेको आशंका गरिएको थियो। इरानले पनि विमानको ब्ल्याक बक्स अमेरिकालाई नदिने बताएपछि शंका उब्जिएको थियो। अहिले भने इरान ब्ल्याक बक्स अध्ययन गर्न अमेरिकालाई दिन राजी भएको छ। इरानले इन्जिन खराबी भएका कारण विमान दुर्घटनामा परेको जनाएको थियो।
अमेरिकाले इरानका सैन्य कमान्डर कासिम सुलेमानीलाई इराकमा ड्रोन आक्रमण गरेर हत्या गरेपछि इरानले अमेरिकासँग बदला लिन बुधबार इराकस्थित अमेरिकी सैन्य क्याम्पमा २२ वटा मिसाइल आक्रमण गरेको थियो।-एजेन्सीको सहयोगमा




प्रतिक्रिया