Logo

प्रहरीमा एआईजी बन्न यसकारण हुँदैछ कडा भिडन्त



काठमाडौं, २५ पौष । नेपाल प्रहरीमा आइजीपी सर्वेन्द्र खनालको अवकाशपछि महानिरीक्षकमा ज्ञवाली, लम्साल र उपाध्यायमध्ये एकजनाको नियुक्ति हुने र बाँकी दुईजनाको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा हुने छ । प्रहरीमा अहिले एआईजीको तीन दरबन्दी रहेको छ ।

आईजीको दौडमा रहेका मध्ये दुईजना एआईजी नियुक्त भएर बाँकी एक पदका उनीहरुभन्दा पछिल्लो ब्याचका डीआईजी चारजना र त्यसभन्दा पछि एक गरी पाँचजनाको प्रतिस्पर्धा हुने छ ।

यो प्रतिस्पर्धामा यतिबेला प्रहरी प्रधान कार्यालयका प्रवक्ता शैलेश थापा क्षेत्री, सीआईबी सदस्य नीरज शाही, विशेष ब्युरो प्रमुख हरिबहादुर पाल र प्रदेश २ प्रहरी कार्यालयप्रमुख प्रद्युम्न कार्की र महानगरीय प्रहरी आयुक्त विश्वराज पोखरेल एआईजीका दावेदार मानिएका छन् । दावेदारमध्येका क्षेत्री, शाही, पाल र कार्की २०७५ असोज २८ गते तथा पोखरेल २०७६ वैशाख २९ गते डीआईजीमा बढुवा भएका हुन् ।

यस हिसाबले तीनजनाको दरबन्दी रहेको एआईजी पदका लागि सातजनाको प्रतिस्पर्धा हुने छ । तर, २०७७ असार २५ गतेपछि महानिरीक्षक बन्नका लागि भने पाँचजनामात्र प्रतिस्पर्धामा हुने छन् । बाँकी पाँचजनामध्ये थापा, शाही, पाल र कार्की आईजी बने पनि उनीहरुको कार्यकाल १९ वैशाख २०७९ सम्ममात्रै रहने छ । पोखरेल आईजी बने उनले छ महिना बढी संगठनको नेतृत्व सम्हाल्न पाउनेछन् । डीआईजी पोखरेल थापा, शाही, पाल र कार्कीको ब्याचका वैकल्पिक उम्मेदवार हुन् । यीमध्ये जो वरिष्ठतम एआइजी बन्छ ऊ नै भावी आइजीपी बन्ने सम्भावना बलियो हुन्छ । यसकारण पनि नयाँ आइजीपी नियुक्तिलगत्तै वरिष्ठतम एआइजी बन्न कसरत शुरु भइसकेको छ ।-साप्ताहिक विमर्शबाट



प्रतिक्रिया दिनुहोस्