Logo

पृथ्वीनारायण शाहले उपत्यका जितेपछि राखेको गुठी



रिपोर्टर्स नेपाल, २६ पौष । नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाह साहसी मात्र थिएनन् दानवीर पनि थिए । राम्रो संस्कार, संस्कृतिक र प्रथालाई सम्मान मात्र गर्दैनथिए आफैमाथि लागू गर्थे । काठमाडौं उपत्यकालगायत देशका मुख्य शहरहरुमा चल्दै आएको गुठी प्रथा अँगिकार गरे ।

वि.सं. काठमाडौं उपत्यका विजय गरेपछिको खुशियालीमा पृथ्वीनारायाण शाहले जोमाथि विजय हासिल गरे उसैको प्रथालाई विस्तार गर्न आफैबाट शुरुवात गरे । काठमाडौं जित्नेवित्तिकै गोरखननाथको धार्मिक पर्व, पुजाको लागि जग्गा दान गरी गुठी राखे ।

पृथ्वीनारायण शाहका दरसन्तानले गुठी प्रथालाई बढावा दिएका थिए । राजा सुरेन्द्रले आफ्ना छोरा पृथ्वी वीर विक्रम शाह जन्मदा महात्तेरीमा गुठी राखेका थिए । तर, शाहकालको अन्तसम्मा गुठी राख्ने प्रथा भन्दा गुठी सक्ने क्रम बढ्दै गइसकेको थियो ।

किराँतकालमा शुरु मल्लकाल उर्वर
नेपालमा गुठी राख्ने प्रथा किरात्काल देखि नै प्रचलनमा रहेको छ । लिच्छवीकालका शक्तिशाली राजा मानदेवले र अंशुवर्मा जस्ता राजाले मठ मन्दिर निर्माण गरी गुठी राखेका थिए ।

मानदेवले युद्धमा विजय हासिल गरेपछि निर्माण गर्न लगाएको चाँगुनारायण मन्दिर संचालनका लागि गुठी राखेका थिए । मानदेवका पालामा धेरैवटा गुठी स्थापना गरिए ।

अंशुवर्माले पनि धेरै गुठी स्थापना गर्न लगाए । विद्धानको सम्मान गर्न जान्दथे अंशुवर्मा । सत्कर्मलाई कालान्तरसम्म चलाउनका लागि अंशुबर्माले गुठी स्थापना गरेका थिए ।

लिच्छिकालमा राखिएको गुठीमध्ये श्री सिंहसार्थ भगवान गुठी पनि हो । विवादास्पद छायाँ सेन्टरका कारण जुन अहिले चर्चामा छ ।
मल्ल राजाहरुका पालामा धेरै गुठी स्थापना गरिए । गुठी विस्तारमा मल्लकाल स्वर्णी मानिन्छ । नेपालको इतिहासमा सबैभन्दा बढी सांस्कृतिक धरोहर निर्माण गर्नेमा मल्ल राजाहरु थिए । सबैभन्दा धेरै जात्रा पर्व पनि मल्लकालमा शुरु गरिए ।

सांस्कृतिक धरोहर, जात्रा पर्व संचालनका लागि मल्ल राजाहरुले गुठी राखेका थिए । उनीहरुको सिको गरी जनताले पनि गुठी माँस्ने गतिविधि हुँदै गएको थियो ।

चन्द्र शमशेरको गुठी
राणा प्रधानमन्त्री चन्द्र शमशेर पनि दानवीर कहलिन्थे । उनका पालामा धेरै पूर्वाधार निर्माण भयो । शिक्षामा पनि सुधार ल्याए । चन्द्र शमशेरका पालामा मुसाफिर खाना गुठी राखी त्रिपुरेश्वरमा पाहुना घरको निर्माण गरी सन्त, महन्थ, लामा जस्ता धार्मिक व्यक्तित्वहरु काठमाडौं भ्रमणमा आउँदा बस्ने व्यवस्था मिलाएका थिए ।

गुठीको सम्पत्ति लु्ट
गुठी माँस्नुलाई धर्मलोप या धर्मनाश भनिन्थ्यो । पृथ्वीनारायणका दरसन्तान सोही दिशातर्फ लागे । गुठी ध्वस्त पार्ने क्रियाकलापमा लागेकाको घेराबन्दीमा परे । गुठीको जग्गा हडप्ने खेलमा शाह वंशका एकजना राजा समेत हतियार बनेको इतिहास साक्षी छ ।

गुठीको सम्पत्ति लुट्ने समूहको घेराबन्दीका पञ्चायती शासक देखि गणतन्त्रका शासक सम्म संलग्न भए । मोहियानी हक देखि मोहीलाई जग्गा दिलाउने नाममा गुठीको सम्पत्ति लुट्ने चलखेल भयो । यसवापत् कमिशन बाँडेर खानेहरु नवधनाढ्यमा रुपान्तरित भए ।

अहिले पनि गुठीलाई ध्वस्त पार्न भूमाफियाहरु लागेका छन् । व्यापारिक र व्यक्तिगत महल बनाउन गुठीको जग्गामा आँखा गाडेका छन् । शासकहरुलाई पैसाको लोभ देखाएर रैकर खोल्ने देखि मठ, मन्दिर, धर्मशाला, पोखरी, आदि सांस्कृतिक क्षेत्रसँग प्रत्यक्ष जोडिएका जग्गाहरु हडप्न खोजेका छन् ।



प्रतिक्रिया दिनुहोस्