Logo

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको चाहना सभामुखमा शिवमाया, प्रचण्डले के गर्लान् ?



काठमाडौं, २६ पुष । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्नेबारे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र रस्साकस्सी र सकसको अवस्था रहिरहेको अवस्थामा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले नै कुनैपनि हालतमा आफूले राजीनामा नदिने अडान लिएकी छिन् । शिवमायाले हिजो (शुक्रबार) नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई भेटेरै आफूले कुनैपनि हालतमा उपसभामुखबाट राजीनामा नदिने र सभामुख हुन आफू नै योग्य रहेको भन्दै योग्यतापनि पेश गरेकी छिन् । शिवमायाको पछिल्लो कदम स्वभाविक नभएको भन्दै नेकपाकै शीर्ष नेताहरु आश्चर्यमा परेका छन् ।

तर, शिवमायाको राजीनामा नदिने पछिल्लो कदम र अडानका पछाडि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पनि साथ रहेको स्रोतको दाबी छ । सभामुखमा कुनैपनि हालतमा सुवासचन्द्र नेम्वाङलाई ल्याउने ओलीको चाहनामा अर्का अध्यक्ष दाहाललगायत अन्य नेताहरु बाधक बनेका थिए । यसबारेमा ओली पहिल्यै नै सचेत थिए ।

सोहीअनुसार उनले नेम्वाङको नाममा सहमति नगर्ने भए शिवमायालाई नै सभामुखमा ल्याउने तयारी गरेका थिए । केही दिन अघिमात्रै पूर्व माओवादी केन्द्रका नेता एवम् नेकपाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पनि यसको संकेत गरेका थिए । उनले पत्रकार ऋषि धमलासँगको कुराकानीमा सभामुख को बन्ने भन्ने कुरा अब उपसभामुखको कोर्टमा बल रहेको बताएका थिए ।

राष्ट्रपति भण्डारीले त सुरुदेखि नै शिवमायालाई नै सभामुख बनाउनको लागि आफ्नो तर्फबाट होमवर्क गरेको टिकाटिप्पणी भैरहेको थियो । अर्का अध्यक्ष दाहालले ओलीसँग सभामुख चयनलगायत अन्य विषयमा आफ्नो चट्टानी अडान कायम राखेपछि पूर्व नेकपा एमालेका नेताहरुले आन्तरिक गृहकार्य गरेर नै यो निर्णय निकालेको बुझ्नमा आएको छ । अध्यक्ष दाहालले नेता वामदेव गौतमको भैंसेपाटीस्थित् निवासमा ओलीविरोधी नेताहरुको भेला गराएका थिए । आफूविरुद्ध मोर्चाबन्दी कस्न थालेको भेउ पाएका ओलीले पनि सभामुखमा शिवमायालाई नै अघि बढाएर गतिलो जवाफ फर्काएका छन् ।

संसदको सबैभन्दा ठूलो दल भएको कारण नेकपाले सभामुख पाउने हो । यसको लागि उसले वर्तमान उपसभामुख शिवमायाको राजीनामा गराउनुपर्ने हो । संसद बैठक भोलि बस्दैछ । तर, अहिलेसम्म शिवमायाले राजीनामा दिएकी छैनन् । उनले सभामुखमा आफ्नोबारेमा निर्णय नगरे भोलि बस्ने संसद बैठकमार्फत सभामुख चयनको निर्वाचन प्रक्रियाको थालनी गर्ने चेतावनी दिईसकेकी छिन् । पूर्व माओवादी केन्द्रका नेताहरुले सभामुख आफूहरुले पाउनुपर्ने अडान लिएका थिए । यसको लागि अग्निप्रसाद सापकोटा, पम्फा भुषाल र देव गुरुङको नाम चर्चामा थियो ।

कतिपयले त उपसभामुखले सभामुख चयनको निर्वाचन प्रक्रिया अघि बढाए नेकपाले सभामुख पद गुमाउनेसमेतको तर्क गरेका छन् । संविधानले सभामुख र उपसभामुख फरक दल र फरक लिङ को हुनुपर्ने व्यवस्था गरेको छ । यदि, शिवमायाले राजीनामा नदिए नेकपाले सभामुख पद गुमाउने पनि नेकपाभित्रकै कानूनका ज्ञाताहरुले टिप्पणी गर्न थालेका छन् ।

तर, नेकपा नेतृत्व कुनैपनि हालतमा सभामुख गुमाउने पक्षमा छैन् । त्यही बुझेर शिवमायाले पनि उपसभामुखबाट राजीनामा नदिने निश्कर्षमा पुगेकी हुन् । उनले आफ्नो पक्षमा पार्टी नेतृत्वले निर्णयमा पुग्ने विश्वास लिएकी छिन् । सभामुख कसलाई बनाउने भन्नेबारे नेकपाले आज निर्णय गर्दैछ । त्यसको लागि उसले आज दिउँसो ४ बजे बैठक बोलाएको छ । File Photo/Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्