Logo

भारतमा सडक दुर्घटना पन्ध्रको मृत्यु्,२५ घाइते



२६ पुस । भारतमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । विपरित दिशाबाट आइरहेका यात्रुवाहक बस र ट्रक शुक्रबार राती एक आपसमा ठोक्किएर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएका छन् ।

देशको उत्तरप्रदेश राज्यमा दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीहरुले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिएका छन् । दुवै साधन एक आपसमा ठोक्किएपछि बसमा आगलागी भएको थियो । बसमा झण्डै ५० जना यात्रु रहेका थिए । उत्तर प्रदेशको कान्नौज जिल्लाबाट राजस्थान राज्यको राजधानी जयपुरतर्फ जाँदै गरेको बससँग ट्रक ठोक्किएको हो ।

प्रारम्भिक अनुसन्धानले ट्रक चालकको लापर्वाहीका कारण दुर्घटना भएको देखिएको प्रहरी अधिकारीहरुले जनाएका छन् । ट्रक चालकले उल्टो दिशामा तिव्र गतिले ट्रक चलाएको उनीहरुको भनाई छ ।प्रत्यक्षदर्शीहरुले दिएको जानकारीअनुसार बस र ट्रक एक आपसमा ठोक्किएपछि कम्तीमा दुईभन्दा बढी इन्धन ट्याङ्की विस्फोटन समेत भएका थिए । विस्फोटनसँगै आगलागी पनि भएको उनीहरुले बताएका छन् ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई स्थानीय विभिन्न अस्पतालहरुमा भर्ना गरिएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । “अझै १८ देखि २० जना भित्र च्यापिएको अनुमान गरिएको छ, उनीहरुलाई जिवितै बाहिर निकाल्ने प्रयास भइरहेको पनि छ,” एक प्रहरी अधिकारीले भने ।

दुर्घटनाको खबर थाहा पाएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले मृतकप्रति श्रद्धाञ्जली र मृतकका आफन्तमा समवेदना व्यक्त गरेको जनाइएको छ । उनले घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको समेत कामना गरेका छन् ।

त्यसैगरी उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथले पनि दुर्घटनाप्रति दुुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहतको घोषणा गरेका छन् । उनले मृतकका परिवारजनलाई प्रति परिवार २ लाख रुपैया र घाइतेहरुलाई प्रतिव्यक्ति ५० हजार रुपैया राहतको घोषणा गरेका हुन्।



प्रतिक्रिया दिनुहोस्