Logo

देशको सबै भूभागको रक्षाको गहकिलो प्रयास हुनैपर्दछ- पूर्व राजा ज्ञानेन्द्र शाह



काठमाडौं, २६ पौष । पूर्व राजा ज्ञानेन्द्र शाहले देशको सबै भूभागको रक्षाका लागि गहकिलो प्रयास हुनुपर्ने बताएका छन् । उनले नेपाल सदा स्वतन्त्र, शान्त, अविभाज्य र अखण्ड रहनुपर्ने समेत स्पष्ट पारेका छन् ।

पृथ्वी जयन्तीका अवसरमा विज्ञप्ति जारी गर्दै शाहले पृथ्वीनारायण शाहका दिव्य उपदेशहरु आधुनिक नेपाल अधिराज्य निर्माणको प्रक्रियामा आज पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको बताएका छन् । विज्ञप्तिमा भनेका छन्, ‘देशको सबै भूभागको रक्षा तथा समग्र नेपालबासीको सम्बृद्धिका लागि गहकिलो प्रयास हुनै पर्दछ ।’

जनतामा असन्तुष्टि बढेको संकेत गर्दै शाहले मुलुकलाई विवादमा पार्ने पूयास भइरहेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘राष्ट्र नायकहरुको वीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नहुने, राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एवं मुलुकले नचाहेको र असान्दर्भिक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कतैबाट पनि हुनु हुँदैन ।’

शाहले २९८ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस भनी उल्लेख गरेका छन् । शाहले दलहरुप्रति घुमाउरो तरिकाले असन्तुष्टि पोखेका छन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्