Logo

राष्ट्रनिर्माताप्रति पुष्पहार अर्पण गर्दै संस्कृतिमन्त्रि भट्टराई



काठमाडौँ, २७ पुस : आधुनिक नेपालको एकीकरणमा पु¥याएको महत्वपूर्ण योगदानको स्मरण गर्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति नेपाल सरकारका तर्फबाट आज सम्मान व्यक्त प्रकट गरिएको छ । दुई सय ९८औँ पृथ्वीजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा सिंहदरबार पश्चिम मूलद्वारमा शाहको शालिक रहेको स्थानमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले राष्ट्रनिर्माताप्रति पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जलि प्रकट गरे ।

सो अवसरमा नेपाली सेनाको ब्याण्डसहितको टुकडीले उहाँप्रति सम्मान अर्पण गरेको थियो । राष्ट्रनिर्माताको शालिकमा उक्त अवसरमा १०८ किलो तौलको माला पनि अर्पण गरिएको थियो । विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

यसअघि प्रज्ञा–प्रतिष्ठानबाट शाहको ठूलो तस्बीर बग्गीमा राखिएको बाजागाजासहितको पदयात्रा शहरका विभिन्न भागको परिक्रमा गरी शालिकस्थल आइपुगेको थियो । राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जलि अर्पण गर्न राजनीतिक दलका नेता, तीनै प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी, पूर्वप्रशासक एवं समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभाव सिंहदरबार पश्चिम मूलद्वार पुग्नुभएको थियो । उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्न विभिन्न सङ्घसंस्थाका बेग्लाबेग्लै झाँकी र बाजागाजासहितको पदयात्रा पनि सिंहदरबारनिर आएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै शाहबाट दिइएको ‘दिव्योपदेश’ अहिले पनि उत्तिकै सान्दर्भिक छ ।

सो अवसरमा कायममुकायम प्रधानसेनापति शरद गिरीलगायत अन्य सुरक्षा निकायका उच्चअधिकृतले पनि राष्ट्रनिर्माताको शालिकमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो । यसअघि ठकुरी सेवा समाज, गे्रेटर नेपाल, गुन्यूचोलो राष्ट्रिय सचेतना अभियान नेपाललगायत सङ्घसंस्थाको बाजागाजासहितको पदयात्रामा सहभागीले शाहको शालिकमा माल्यार्पण गर्नुभएको थियो । पदयात्राका सहभागीले ‘राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ’, ‘पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा होस्’भन्ने जस्ता प्लेकार्ड बोकेका थिए । Photo By : Mukund Kalikote/Reportersnepal



प्रतिक्रिया दिनुहोस्